‘दिवाली’को अवसरमा न्यूजील्याण्डमा उठ्दै आएको सार्वजनिक बिदाको माग – New Zealand News Nepal (NZ News Nepal)

‘दिवाली’को अवसरमा न्यूजील्याण्डमा उठ्दै आएको सार्वजनिक बिदाको माग

   October 15, 2025  

न्यूजील्याण्डमा रहेका हिन्दू समुदायबीच मनाइने ‘दिवाली’, जसलाई नेपालीहरूले दिपावली वा तिहार नामले मनाउने गर्छन्, अहिले न्यूजील्याण्डमा सार्वजनिक बिदाको मान्यता दिनुपर्ने विषयमा प्रेसर र सामुदायिक नेतृत्वबीच गम्भीर बहस सुरु भएको छ। अहिले देशमा ११ वटा सार्वजनिक बिदा छन्, जबकि सरकारले मातरिकीलाई केही वर्षअघि देखि सार्वजनिक बिदा घोषित गरेर बहुसांस्कृतिक पहिचानप्रति सम्मान देखाइसकेको छ। मातरिकी माओरी समुदायको नयाँ वर्ष हो र सरकारले सन् २०२२ देखि न्यूज़ील्याण्डमा माओरी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिन थालेको छ। यही कदमलाई आधार बनाउँदै हिन्दू समुदायले पनि दिवालीलाई राष्ट्रिय बिदाको सूचीमा समावेश गर्नुपर्ने माग अघि सारेका छन्।

युनिभर्सल सोसाइटी अफ हिन्दुइजमका अध्यक्ष राजन जेडका अनुसार दिवाली केवल धार्मिक पर्व मात्र नभई “उज्यालोले अन्धकारमाथि गरेको विजय, परिवारिक एकता र सांस्कृतिक पहिचानको उत्सव” हो। उनी भन्छन्, “क्रिसमस र गुड फ्राइडेमा सार्वजनिक बिदा प्रदान गरिन्छ, तर हिन्दू समुदायको सबैभन्दा महत्वपूर्ण पर्वमा काम र अध्ययन निरन्तर राख्न बाध्य हुनु सांस्कृतिक समानतामाथि प्रश्न हो।”

भारत र नेपालबाट आएका आप्रवासीहरूको संख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढ्दै गएको छ, र तिहार/दिवाली उत्सवहरूले समुदायीय उपस्थिति अझ स्पष्ट बनाइरहेको छ।

अकल्याण्ड, ह्यामिल्टन, क्राइस्टचर्च र Wellington जस्ता सहरहरूमा तिहारका अवसरमा नेपाली समुदायले समेत देउसीभैंलो, रङ्गोली, दीयो बाल्ने कार्यक्रम र सांस्कृतिक प्रस्तुतिहरू आयोजना गरिन्छन्, जसमा केवल भारतीय वा नेपाली मात्र होइन, अन्य कीवी नागरिकहरू पनि सहभागी हुन्छन्।
न्यूजील्याण्डको संसदले सन् २०१० देखि दिवाली मनाउँदै आएको तथ्यले यो पर्वले देशको सांस्कृतिक डायनमिक्समा स्थान बनाइसकेको स्पष्ट देखाउँछ। हिन्दू समुदायको भनाइ छ, “जब देशले संसद स्तरमै मनाइरहेको छ भने नीतिगत रूपमा पनि मान्यता दिनु न्यायसंगत हुन्छ।”

नेपाली समुदाय समेत भन्छन् कि तिहार केवल धार्मिक पर्व होइन, यो परिवार पुनर्मिलन, सम्मान, भाइटीकादेखि कुकुर पूजा जस्ता मानवीय मूल्यहरूको उत्सव हो। परिवार र समुदायबीचको आत्मीयता, दया, सहयोग र उत्साहलाई राज्यले सम्मान गर्दा मात्र समावेशी राष्ट्रको पहिचान मजबुत हुन्छ। अहिले धेरै परिवारले दिवाली/तिहार काम गर्ने दिन परेकाले दिनभर काममा व्यस्त हुँदै साँझपख मात्र साधारण रूपमा मनाउन बाध्य भइरहेका छन्।

हिन्दू समुदायको तर्क छ, मातरिकी जस्तै दिवालीले पनि राष्ट्रिय एकता र सामाजिक समावेशीकरणमा ठूलो योगदान गर्न सक्छ। क्यालिफोर्नियाले पनि दिवालीलाई सार्वजनिक बिदा दिने संकेत गरिसकेकाले न्यूजील्याण्डले विश्वमञ्चमा बहुसांस्कृतिक सहअस्तित्वको उदाहरण दिन यो अवसर गुमाउनु हुँदैन। उनीहरू भन्छन् : ‘दिवालीलाई सार्वजनिक बिदा घोषणा गर्नु भनेको उज्यालो रोज्ने राष्ट्रको पहिचान स्वीकार गर्नु हो।’