अपराजित नेपाल: सामोआ १२४ रनले पराजित – New Zealand News Nepal (NZ News Nepal)

अपराजित नेपाल: सामोआ १२४ रनले पराजित

   October 18, 2025  

सामोआलाई पराजित गर्दै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि उचालेको छ। दुई खेल अगावै विश्वकपका लागि छनोट भइसकेको नेपालले शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा सामोआमाथि १ सय २४ रनको फराकिलो जित निकाल्दै छनोटको उपाधि उचालेको हो।

योसँगै नेपालले अपराजित रहेर विश्वकपमा स्थान बनाएको हो। नेपालले दिएको २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको सामोयाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।

सामोआलाई सस्तैमा रोक्न नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र १३ रन खर्चे। करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे।

सामोआका लागि सियन सोलियाले सर्वाधिक ४० रन बनाए। बेन्जामिन माइलताले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि ओमानको अल एमिरेट क्रिकेट मैदानमा सामोयाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ११ रनको योगफल तयार पारेको हो।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

दीपेन्द्र सिंह एरिले ३३ बलमा २ चौका र ४ छक्का सहयोगमा ५३ रन थपे। लोकेश बम ३९ र कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। कुशल भुर्तेल १७ रनमा बोल्ड आउट भए। आरिफ शेखले ९ रन बनाए।

विश्वकपको एसिया इस्ट प्यासिफिक छनोटबाट नेपालसहित ओमान र यूएईले स्थान पक्का गरे। कतार, जापान र सामोआ छनोट चरणबाट बाहिरिसकेका छन्। सुपर सिक्सको सबै खेलमा पराजित हुने सामोआ एक्लो टोली हो।

छनोटको ५ खेलबाट १० अंक बनाएको नेपाल शीर्ष स्थानमा छ। ५ खेलबाट ८ अंक भएको ओमान दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक भएको यूएई तेस्रो स्थानमा छ। आजै भएको सुपर सिक्सको पहिलो खेलमा जापानलाई ९ विकेटले पराजित गर्दै ओमान दोस्रो स्थानमा उक्लेको हो।