न्युजील्याण्डका पूर्व प्रधानमन्त्री जिम बोल्जरलाई आज बिहान भएको सरकारी अन्त्येष्टि समारोहमा श्रद्धाञ्जली अर्पण गरिएको छ। विभिन्न राजनीतिक दलका सांसदहरू अन्त्येष्टि समारोहमा सहभागी भएका थिए। बोल्जरको अक्टोबर १५ तारिखको दिन निधन भएको थियो।
प्रधानमन्त्री क्रिष्टोफर लकसनसहित राजनीतिक वृत्तका प्रतिनिधिहरूले बोल्जरप्रति सम्मान व्यक्त गरेका थिए। पूर्व प्रधानमन्त्रीहरू जेनी शिप्ली र बिल इङ्ग्लिस, उपप्रधानमन्त्री डेविड सीमोर, अर्थमन्त्री निकोला विलिस र सभामुख गेरी ब्राउनली पनि उपस्थित रहेका थिए।
त्यसैगरी, पूर्व नेताहरू क्रिस फिनलायसन, टड मुलर, नाथन गाइ र जोन कार्टर पनि अन्त्येष्टि कार्यक्रममा देखिएका थिए।
विपक्षी दलहरूबाट विल्ली ज्याक्सन, जुली एन् जेण्टर र स्टिभ एबेल, र ते पाती माओरीकी सह-अध्यक्ष डेबी न्गारेवा-पेकर तथा पार्टी अध्यक्ष जोन तामिहेरे उपस्थित थिए।
अन्त्येष्टि समारोहमा प्रधानमन्त्री लकसन, गभर्नर जनरल सिन्डी किरोले मन्तव्य दिएका थिए।
गभर्नर–जनरल डेम सिन्डी किरोले आफ्नो सम्बोधनमा बोल्जरको निधनलाई “एक युगको अन्त्य” भनेकी थिइन्। उनले भनिन्, “१५ वर्षको उमेरमा विद्यालय छोडेका एक किसानले मेहनत र दृष्टिकोणका साथ प्रधानमन्त्री बन्ने अवसर पाउनु न्युजील्याण्डको असल कथा हो।”
उनले थपिन्, “न्युजील्याण्डले एउटा असल मानिस गुमाएको छ — जसले कठिन समयहरूमा साहस, दृष्टि र ईमानदारीका साथ नेतृत्व गरे।”
बोल्जर सन् १९९० देखि १९९६ सम्म तीन कार्यकालका लागि प्रधानमन्त्रीको भूमिकामा रहे, जसअन्तर्गत उनले सात वर्षभन्दा बढी देशको नेतृत्व गरेका थिए।


