न्युजिल्याण्डमा आम निर्वाचन आउन एक वर्ष बाँकी, पुनः ‘हङ्ग पार्लियामेन्ट’को संकेत

271 Shares

न्युजिल्याण्डको आगामी आम निर्वाचन आउन अब एक वर्ष मात्र बाँकी रहँदा राजनीतिक वातावरण अत्यन्तै तरंगित बन्न थालेको देखिन्छ। हालै कर्मचारीहरूको ठूला हड्ताल (mega strike) ले देशभर असन्तुष्टिको भावना झल्काएको छ। त्यससँगै महँगी लगातार बढ्दो छ र जीवनयापनको लागत अझै पनि उच्च स्तरमै स्थिर रहेको छ। देशको मनोभाव अहिले राजनीति मात्र होइन, राजनीतिज्ञ र सरकारप्रति पनि थकित र निराश देखिएको छ।

न्युजील्याण्डमा आगामी वर्ष अर्थात् २०२६ को अक्टोबरमा आम निर्वाचन गर्नु पर्ने हुन्छ। सरकारले निर्वाचनको मिति तोकेको छैन तर पनि अर्को वर्ष अक्टोबर महिनामा निर्वाचन हुने सम्भावना प्रायः रहेको छ। ३–३ वर्षमा हुने आम निर्वाचन अर्को वर्षको डिसेम्बर १९ सम्ममा गरिसक्नु पर्नेछ। हालको संसद सेप्टेम्बरमै विघटन हुने र सम्भावित रूपमा अक्टोबरको अन्त्यसम्ममा निर्वाचन हुने बताइएको छ।

ताजा सर्वेक्षण अनुसार, सरकार विपक्षी गठबन्धनभन्दा अलि अगाडि देखिन्छ, तर प्रधानमन्त्री क्रिस्टोफर लक्सन अझै पनि लोकप्रिय नेताको सूचीमा लेबर नेता क्रिस हिप्किन्स भन्दा पछाडि छन्। हालैको एक सर्वेक्षणमा लक्सन ३७ प्रतिशतमा, जबकि हिप्किन्स ४३ प्रतिशतमा रहेका थिए। उता, लेबर पार्टी विस्तारै पुनःसंरचना हुँदैछ, तर आगामी निर्वाचनको ठूलो चुनौती भने गठबन्धन सहयोगी खोज्ने रहनेछ। ग्रीन पार्टी र ते पाति माओरी दुवै विवादका कारण चुनौतीपूर्ण अवस्थामा छन्।

राजनीतिक विश्लेषकहरूको भनाइमा, अहिले जनमानसमा राजनीतिक परिदृश्यप्रति असन्तुष्टिको भावना बढ्दै गएको छ। यसको कारण देशका दुई प्रमुख दल, नेशनल र लेबर पार्टीप्रतिको घट्दो समर्थन रहेको छ । एउटा समयमा यी दुई पार्टीहरूलाई करिब ८० प्रतिशत समर्थन मिल्थ्यो, तर अहिले त्यो समर्थन घट्दै झरेको छ, जसले जनतामा दुवै ठूला दलप्रति असन्तुष्टि र निराशा देखाउँछ।

यही कारणले गर्दा अहिले न्युजिल्याण्डमा राजनीतिक अस्थिरता र अनिश्चितताको वातावरण फैलिएको छ। विश्लेषकहरूको भनाइमा, देश केही हदसम्म ‘टुटेको’ जस्तो महसुस भइरहेको छ, र कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना न्यून देखिन्छ। यदि यस्तो अवस्थामै निर्वाचन भयो भने, आगामी संसद पुनः हङ्ग पार्लियामेन्ट (hung parliament) बन्ने लगभग निश्चितजस्तै देखिन्छ। संसदीय व्यवस्थामा स्पस्ट बहुमत प्राप्त पार्टीले सरकार बनाउँछ तर कहिलेकहिँ कुनै पनि दलले स्पस्ट बहुमत प्राप्त गर्न असमर्थ भएको अवस्थामा दुइ वा दुइ भन्दा बढी दल मिलेर सरकार बनाउँछ भने त्यसलाई त्रिशङ्कु संसद (Hung Parliament) भनिन्छ ।

सन् २०१७ को आम निर्वाचनमा लेबर पार्टीले एकल बहुमत प्राप्त गरेको थियो, तर त्यसपछिका दुई निर्वाचनहरूमा गठबन्धन सरकारहरू बन्ने क्रम निरन्तर देखिएको छ। आगामी निर्वाचनमा पनि त्यही परम्परा दोहोरिने सम्भावना बलियो देखिन्छ, किनभने देश अहिले राजनीतिकरूपमा विभाजित मात्र होइन, मतदातामाझ पनि भ्रम र निराशा गहिरिँदै गएको छ।

सम्बन्धित समाचार

सबै