रेकर्ड संख्यामा न्यूजिल्याण्डका नागरिक देश छोड्दै – New Zealand News Nepal (NZ News Nepal)

रेकर्ड संख्यामा न्यूजिल्याण्डका नागरिक देश छोड्दै

   November 13, 2025  

गत वर्षको तुलनामा अष्ट्रेलियाबाट न्यूजिल्याण्ड आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ, तर अर्को तर्फ रेकर्ड संख्यामा न्यूजिल्याण्डका नागरिक देश छोड्दै गएको तथ्याङ्कले देखाएको छ।

Stats NZ का अनुसार, सेप्टेम्बर २०२५ मा समाप्त भएको वर्षमा अष्ट्रेलियाबाट आएका पर्यटकको संख्या १४.८ लाख पुगेको छ, जुन अघिल्लो वर्षको १३.३ लाख भन्दा धेरै हो। यो २०१९ (कोभिड महामारीअघि) पछि अष्ट्रेलियाबाट आएको दोस्रो सबैभन्दा ठूलो संख्या हो।

Stats NZ का अन्तर्राष्ट्रिय यात्रा तथ्याङ्कका प्रवक्ता ब्रायन डाउन्स ले भने, “सेप्टेम्बर २०२५ सम्म अष्ट्रेलियाबाट आएका यात्रुहरूको वृद्धिसँगै अष्ट्रेलिया–न्यूजिल्याण्डबीचका हवाई उडानमा वृद्धि र टुरिज्म न्यूजिल्याण्डको अष्ट्रेलियाली बजार लक्षित प्रचार अभियान पनि संयोग परेको छ।”

कुल रूपमा हेर्दा, गत वर्ष न्यूजिल्याण्डमा आएका पर्यटकको संख्या ३४.३ लाख पुगेको छ, जुन अघिल्लो वर्षभन्दा १ लाख ९७ हजार बढी हो। अष्ट्रेलियाबाहेक, सबैभन्दा बढी वृद्धि संयुक्त राज्य अमेरिका, बेलायत र जापान बाट भएको देखिन्छ।


🔸 रेकर्ड संख्यामा न्यूजिल्याण्डवासी विदेशतिर

Stats NZ ले सार्वजनिक गरेको आप्रवासन तथ्याङ्क अनुसार, सेप्टेम्बर २०२५ मा समाप्त भएको वर्षमा न्यूजिल्याण्डको नेट माइग्रेसन (आवागमन) लाभ १२,४०० मा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४२,४०० भन्दा निकै कम हो।

विशेष गरी न्यूजिल्याण्डका नागरिकहरूको नेट माइग्रेसन घाटा ४६,४०० पुगेको छ, जसमा ७२,७०० न्यूजिल्याण्डवासी देश छोडेका छन् — अधिकांश अष्ट्रेलिया गएका छन्।

त्यही अवधिमा २६,३०० न्यूजिल्याण्ड नागरिक विदेशबाट फर्किएका छन्।
न्यूजिल्याण्ड बाहेकका नागरिकहरूको नेट माइग्रेसन लाभ ५८,८०० रहेको छ — जसमा १,१२,६०० आगमन र ५३,८०० प्रस्थान समावेश छन्।
विदेशी आगमनमध्ये सबैभन्दा ठूला समूहहरू न्यूजिल्याण्ड नागरिकहरू, चीन, भारत र फिलिपिन्स का रहेका छन्।

मन्त्रीहरूको प्रतिक्रिया

आप्रवासन मन्त्री एरिका स्ट्यानफोर्ड ले भनिन्, “२०२३ देखि आर्थिक सुस्तीकै कारण धेरै न्यूजिल्याण्डवासी विदेश जाँदै आएका हुन्। अर्थतन्त्र सुधारिँदै जाँदा यो प्रवृत्ति घट्नेछ।”

उनका अनुसार, “आर्थिक चक्रमा यस्तो स्वाभाविक रूपमा हुन्छ — जब अर्थतन्त्र कमजोर हुन्छ, किवीहरू अवसर खोज्दै विदेश जान्छन्, तर सुधार भएपछि उनीहरू फर्किन्छन्। हामीले पहिले पनि देखेका छौं, फेरि पनि त्यस्तै हुनेछ।”

अर्थ मन्त्री निकोला विलिसले भनिन्, “यसले फेरि देखायो कि हामीले यहाँ घरमै रोजगार र अवसर सृजना गर्न अर्थतन्त्र बढाउनैपर्छ। अष्ट्रेलिया हाम्रो भन्दा धनी देश हो भन्ने कुरा नयाँ होइन, तर हामी पनि त्यससँग बराबरी गर्न सक्छौं।”

उनले थपिन् , “अष्ट्रेलिया जाने न्यूजिल्याण्डवासीहरूको संख्यामा सबैभन्दा ठूलो वृद्धि अघिल्लो सरकारले गरेको समयमा भएको थियो।”

तर ग्रीन पार्टीका प्रवक्ता रिकार्डो मेनेन्देज मार्च ले भने, “यो त दुःखद हो कि अब मानिसहरूलाई न्यूजिल्याण्डमा आफ्नो भविष्य देखिँदैन। सरकारले अघिल्लोलाई दोष दिन बन्द गर्नुपर्छ। क्रिस्टोफर लक्शनले राम्रो रोजगारी र जीवनस्तरका अवसर सिर्जना गर्न असफल भएका छन्।”

लेबर पार्टीकी उपनेता कार्मेल सेपुलोनी ले पनि भनिन्, “दुर्भाग्यवश धेरै न्यूजिल्याण्डवासीहरूलाई अब देशभित्र अवसर देखिँदैन। स्वास्थ्य प्रणाली संकटमा छ, रोजगारी घट्दैछ, घरहरू उपलब्ध छैनन् र जीवनयापनको लागत अत्यन्तै महँगो छ — त्यसैले उनीहरू राम्रो अवसर खोज्दै बाहिरिँदैछन्।”

पर्यटन मन्त्री लुइज अप्स्टन ले भने, “यसले फेरि अर्थतन्त्रिक वृद्धिको आवश्यकता देखाउँछ। हामीले रोजगार सिर्जना गर्न र किवीहरूलाई यहीं राख्न अर्थतन्त्र सुदृढ पार्नैपर्छ।”

त्यस्तै संरक्षण मन्त्री तामा पोटाका ले भने, “सबैजना स्थायी रूपमा बाहिर बस्दैनन्। धेरै विदेश जान्छन्, तर धेरै फर्किन्छन् पनि। म त्यसबारे धेरै चिन्तित छैन।”