एनपीएल दोस्रो संस्करण आजबाट सुरु हुँदै – New Zealand News Nepal (NZ News Nepal)

एनपीएल दोस्रो संस्करण आजबाट सुरु हुँदै

   November 17, 2025  

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र बलियो तयारीसहित मैदानमा उत्रन लागेको काठमाडौं गोर्खाज आमनेसामने हुँदैछन्। दुवै टोलीबीचको रोकिएको प्रतिष्पर्धा आज दिउँसो ४ बजे शुरू हुनेछ, जसले यस वर्षको एनपीएलले कस्तो रफ्तार लिन्छ भन्ने संकेत गर्ने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस पटक सबै खेल कीर्तिपुरमै दिउँसो र रातिमा आयोजना गर्ने तयारी गरेको छ। क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्रीका लागि राखेको छ भने उद्घाटन खेलको टिकट खेल हुनुअघि तीन दिनमै सकिएको छ। ठूलो भीड व्यवस्थापन चुनौती देखिएको भन्दै क्यानका सचिव पारस खड्काले क्रिकेट प्रेमीहरूलाई घरमै बसेर प्रसारणमार्फत खेल हेर्न आग्रह गरेका छन्।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा लिग चरण, तीन प्लेअफ खेल र फाइनलसहित गरी ३२ खेल हुनेछ। उद्घाटन दिनका टिकट मूल्य साधारणमा ५०० रुपैयाँ र प्रिमियममा १५०० रुपैयाँ तोकिएको छ। लिग चरणका अन्य दिनहरूमा टिकट दर ५०० र १००० रुपैयाँ हुनेछ। प्लेअफ तथा फाइनल चरणका लागि भने जनरल टिकट १००० र प्रिमियम २००० रुपैयाँ तोकिएको छ। साथै, सिजनल टिकटको मूल्य १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

यस सिजन आठ फ्रेन्चाइज टोलीहरू प्रतियोगितामा सहभागी छन्। साबिक विजेता जनकपुर बोल्ट्ससँगै उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको दोस्रो दिन मंगलबार पनि दुई रोमाञ्चक खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने कार्यक्रम छ। यस वर्षको एनपीएलले घरेलु क्रिकेटमा उत्कट उत्साह जगाउने अपेक्षा गरिएको छ।