न्यूजिल्याण्डकी महिलामाथि अश्लील व्यवहार गर्ने युवक पक्राउ – New Zealand News Nepal (NZ News Nepal)

न्यूजिल्याण्डकी महिलामाथि अश्लील व्यवहार गर्ने युवक पक्राउ

   November 19, 2025  

श्रीलंकामा एक्लै यात्रा गरिरहेकी एक न्यूजिल्याण्डकी महिलामाथि अश्लील व्यवहार र यौन प्रस्ताव गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। उक्त घटना सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि स्थानीय प्रहरी सक्रिय भएका हुन्।

न्यूजिल्याण्डकी मोल्ली नामकी महिला अक्टोबर २५ मा श्रीलंका टापुको पूर्वी क्षेत्र थम्बिलुविल (Thambiluvil) हुँदै टुकटुक चलाइरहेकी थिइन्।

टुटफुट अंग्रेजीमा उनी कहाँ बसिरहेकी छन् भनेर सोध्दै युवकले सेक्ससम्बन्धी कुरा उठाएपछि मोल्ली तत्काल अचम्मित भइन् । तर त्यसैबेला युवकले उनीमाथि आफूलाई नग्नरूपमा प्रदर्शन गरे। मोल्लीले आफू यति धेरै आत्तिएको बताइन् कि तत्काल कडा प्रतिक्रिया दिन नसकेको अनुभव सुनाइन्। “मैले स्पष्ट रूपमा ‘होइन’ भने पनि उसले यस्तो गर्ने साहस गरेकोमा विश्वासै लागेन,” उनले भनिन्।

घटनापछि मोल्लीले उक्त भिडिओ सामाजिक सञ्जालमा सेयर गरिन्, जसले केही दिनमै लाखौँ भ्यू पाएको छ। यसलाई लिएर श्रीलंकामै रहेका स्थानीय बासिन्दाले उनलाई प्रहरीसमक्ष उजुरी दिन प्रोत्साहन गरेका थिए।

श्रीलंकाका प्रहरीका अनुसार उक्त भिडियो विश्वभर फैलिँदै जाँदा अन्तर्राष्ट्रिय स्तरमा देशको बदनाम हुने अवस्था आएको थियो। त्यसपछि पर्यटन विभाग, थिरुक्कोविल र पोट्टुविल प्रहरीसँग समन्वय गर्दै अनुसन्धान थालिएको थियो।

सार्वजनिक रूपमा सन्दिग्धको पहिचान खोजिएको सूचनापछि २५ वर्षीय एक युवकलाई शनिबार पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।