अर्थ मन्त्री निकोला विलिस आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नबन्ने

167 Shares

न्युजिल्याण्डकी अर्थ मन्त्री निकोला विलिसले आगामी आम निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारी नदिने घोषणा गरेकी छन्। विलिसले २०२६ को आम निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्र (इलेक्टोरेट) बाट उम्मेदवारी नदिने घोषणा गरेकी छन्। उनले पार्टी सूची (लिस्ट) बाट मात्र उम्मेदवार बन्ने जनाएकी हुन्।

सोमबार जारी गरिएको वक्तव्यमा विलिसले आफू लिस्ट–ओनली उम्मेदवार रहने बताएकी हुन्। उनले २०२३ को निर्वाचनमा वेलिङ्टनको Ōhāriu निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेकी थिइन्, तर लेबर पार्टीका ग्रेग ओ’कनरसँग १२६० मतान्तरले पराजित भएकी थिइन्।

विलिसले यस निर्णयको स्पष्ट कारण भने खुलाएकी छैनन्। यसअघि पनि उनले वेलिङ्टन सेन्ट्रलबाट लेबर नेता ग्रान्ट रोबर्टसनविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन्, तर जित हासिल गर्न सकेकी थिइनन्। हालसम्म उनले कुनै पनि निर्वाचन क्षेत्रमा विजय हासिल गरेकी छैनन्।

वक्तव्यमा विलिसले भनिन्, “न्यूजील्याण्डभरि अभियान सञ्चालन गर्दै आधारभूत समस्याहरू समाधान गर्ने र भविष्य निर्माणमा केन्द्रित नेशनल सरकार पुनः निर्वाचित गराउन सहयोग गर्ने जिम्मेवारी पाउँदा म सम्मानित महसुस गरिरहेकी छु।”

उनले थपिन्, “आगामी आम निर्वाचनमा पार्टी मत जित्नका लागि क्रिस्टोफर लक्जन तथा देशभरका नेशनल सांसद र उम्मेदवारहरूलाई सहयोग गर्न म उत्साहित छु।”

२०२६ को निर्वाचनका लागि वेलिङ्टन क्षेत्रमा नयाँ निर्वाचन सीमाना लागू हुँदैछन्। पूर्व Rongotai निर्वाचन क्षेत्रलाई अब Wellington Bays ले प्रतिस्थापन गर्नेछ भने Ōhāriu क्षेत्रलाई विभाजन गरी Wellington North र Kenepuru नामका दुई नयाँ निर्वाचन क्षेत्र बनाइनेछ।

यसैबीच, ग्रेग ओ’कनरले Wellington North सिटका लागि दाबी गरे पनि उनले आफ्नै पार्टीकी सहकर्मी आयेशा भेरालसँग प्रतिस्पर्धामा हार बेहोरेका छन्।

सम्बन्धित समाचार

सबै