बालेन र रविबीच महत्त्वपूर्ण भेट, बालेनलाई प्रधानमन्त्री बनाउने गरी चुनावमा जाने तयारी

391 Shares

सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पछिल्लो दुई दिनमा दोस्रो पटक भेटवार्ता गरेका छन्।

पहिलो भेट आइतबार भएको थियो भने सोमबार रास्वपाका पूर्वसांसद असिम शाहको घरमा लामिछाने र बालेन पक्षबीच पुनः छलफल भइरहेको स्रोतले जनाएको छ। आजको भेटवार्ता करिब तीन घन्टादेखि जारी रहेको बताइएको छ।

बालेन निकट स्रोतका अनुसार लामिछानेले आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेका छन्। त्यसका लागि बालेन संलग्न रहेको ‘देश विकास पार्टी’ र रास्वपाबीच एकीकरण गरी एकीकृत पार्टीको नाम रास्वपा नै राख्ने प्रस्तावसमेत गरिएको दाबी गरिएको छ।

यसैबीच रास्वपा नेता तथा पूर्वसांसद शिशिर खनालले काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सकिने सम्भावना स्वीकार गरेका छन्। कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठसँगको अन्तर्वार्तामा खनालले पार्टीभित्र सम्भावित प्रधानमन्त्रीका उम्मेदवारबारे धारणा राख्दै बालेन शाहको नाम लिएका हुन्।

“पार्टी सभापति रवि लामिछाने स्वाभाविक हकदार हुनुहुन्छ। त्यसबाहिर हेर्दा कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन शाह पनि स्वाभाविक पात्र हुनुहुन्छ,” खनालले भने।

रास्वपाका प्रवक्ता मनीष झाले पनि बालेनसँग आपसी सहकार्यबारे छलफल भइरहेको जानकारी दिएका छन्।

आजको भेटघाटमा रास्वपातर्फबाट रवि लामिछाने, डोलप्रसाद अर्याल र असिम शाह सहभागी छन् भने बालेन पक्षबाट कुमार बेन, निश्चल बस्नेतलगायत सदस्यहरू सहभागी रहेको जनाइएको छ।

लामिछाने पुस ४ गते भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएर थुनामुक्त भएका थिए। त्यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सशर्त रिहा गर्न आदेश दिएको थियो।

थुनामुक्त भएसँगै लामिछानेलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने बाटो खुलेको छ। प्रतिनिधिसभा निर्वाचन ऐनले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई चुनाव लड्न रोक लगाएको छैन। तर मुद्दा कायम रहेकाले उनी निर्वाचित भए पनि तत्काल सांसदको रूपमा काम गर्न वा मन्त्री बन्न पाउने छैनन्।

धरौटीमा रिहा भएलगत्तै लामिछानेले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। काठमाडौं फर्किएपछि उनले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारसँग भेट गरेका थिए भने आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गरेका थिए।

सम्बन्धित समाचार

सबै