सन् २०२६ को पहिलो सुपरमुनले गएराति न्युजिल्याण्डभर आकाश झलमल्ल बनाएको छ। चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दु (पेरिजी) नजिक हुँदा देखिने यस सुपरमुन सामान्य पूर्णिमाभन्दा ठूलो र चम्किलो देखिएको थियो।
अकल्याण्ड, वेलिङटन, क्राइस्टचर्च, रोतोरुवा, तउरङ्गा लगायत देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रबाट मानिसहरूले यो अद्भुत खगोलीय दृश्य अवलोकन गरेका थिए। सामाजिक सञ्जालमा पनि सुपरमुनका आकर्षक तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा भएका छन्।
खगोलविद्हरूका अनुसार सुपरमुनको समयमा चन्द्रमा सामान्यभन्दा करिब ७ प्रतिशत ठूलो र १५ प्रतिशतसम्म उज्यालो देखिन सक्छ। मौसम खुलेको अवस्थामा यो दृश्य अझ स्पष्ट देखिएको थियो, जसले आकाशप्रेमी र फोटोग्राफरहरूलाई विशेष उत्साह दिएको छ।
सन् २०२६ को पहिलो सुपरमुनले नयाँ वर्षको सुरुवातमै न्युजिल्याण्डवासीलाई एक यादगार खगोलीय उपहार दिएको बताइएको छ।