प्रधानमन्त्रीको दाबी: न्युजिल्यान्डमा व्यवसायिक आत्मविश्वास २०१४ यताकै उच्च स्तरमा

259 Shares

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आज सार्वजनिक भएको नयाँ सर्वेक्षणले किवी व्यवसायहरू २०१४ यताकै सबैभन्दा उच्च आत्मविश्वासमा पुगेको देखाएको बताएका छन्। उनका अनुसार सरकारका पछिल्ला नीतिगत निर्णय र सुधारका कारण व्यवसायहरू पुनः लगानी, विस्तार र रोजगारी सिर्जनातर्फ अग्रसर भएका छन्।

प्रधानमन्त्री लक्सनले सरकारले अनावश्यक खर्च नियन्त्रण गर्दै मुद्रास्फीति र ब्याजदर घटाउन सफल भएको बताए। यसले समग्र अर्थतन्त्रलाई स्थिर बनाउनुका साथै व्यवसायिक वातावरणमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

उनका अनुसार संयुक्त अरब इमिरेट्स (UAE) र गल्फ कोअपरेसन काउन्सिल (GCC) सँग नयाँ निर्यात बजार खुलाइएको छ भने भारतसँग स्वतन्त्र व्यापार सम्झौता सम्पन्न गरिएको छ। यी कदमहरूले न्युजिल्यान्डका व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा थप अवसर प्रदान गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

सरकारले ‘इन्भेस्टमेन्ट बुस्ट’ कार्यक्रम सुरु गरी व्यवसायहरूलाई लगानी र विस्तारमा प्रोत्साहन दिएको, साथै किसान, कृषक र निर्यातकर्तालाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहयोग गरेको लक्सनले बताएका छन्। उनका अनुसार पछिल्ला दुई वर्षमा निर्यात १२ अर्ब डलरले वृद्धि भएको छ।

त्यसैगरी, ठूला पूर्वाधार परियोजनालाई छिटो अघि बढाउन ‘फास्ट–ट्र्याक’ प्रक्रिया लागू गरिएको र देशभर १७ वटा राष्ट्रिय महत्वका सडक निर्माण भइरहेको प्रधानमन्त्रीको भनाइ छ। यसले ढुवानी, प्राविधिक कामदार र व्यवसायहरूलाई देशभर अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउने उनले बताए।

प्रधानमन्त्री लक्सनले सरकार आधारभूत सुधार गर्दै भविष्य निर्माणमा केन्द्रित रहेको र न्युजिल्यान्डको आर्थिक सुदृढीकरणका लागि निरन्तर काम भइरहेको स्पष्ट पारेका छन्।

सम्बन्धित समाचार

सबै