‘शेर’ बन्न नसकेका शेरबहादुर – New Zealand News Nepal (NZ News Nepal)

‘शेर’ बन्न नसकेका शेरबहादुर

   January 17, 2026  

पाँच पटक देशको प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले शुक्रबारदेखि नेपाली कांग्रेसको सभापतिका रूपमा वैधानिकता गुमाएका छन्। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिएसँगै देउवा औपचारिक रूपमा दलविहीन अवस्थामा पुगेका हुन्। लामो राजनीतिक संघर्षपछि पार्टी नेतृत्वसम्म पुगेका देउवाको बिदाइ भने सुखद हुन नसकेको देखिन्छ, किनकि उनी अब एउटा समूहको नेतामा मात्र सीमित भएका छन्।

देउवाको राजनीतिक जीवन हेर्दा नेतृत्वमा पुगेपछि पनि बारम्बार अपदस्थ, कमजोर वा अलग पारिने घटनाहरू दोहोरिँदै आएको पाइन्छ। विद्यार्थी राजनीतिबाटै सुरु भएको उनको यात्रामा बीपी कोइरालादेखि हाल गगन थापासम्म आइपुग्दा ‘निष्कासन’ र बहिष्कारको क्रम निरन्तर देखिन्छ। नेविसंघको सभापति हुँदा नै बीपीले उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए, जसले देउवालाई कांग्रेसको मूल धारबाट टाढा पार्दै लगेको मानिन्छ।

संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि देउवाले स्थायित्व पाउन सकेनन्। पहिलो पटक प्रधानमन्त्री बनेको एक वर्ष नबित्दै उनी संसद्मा अविश्वास प्रस्तावबाट पराजित भए। दोस्रो कार्यकालमा संसद् विघटन गरेपछि पार्टी नेतृत्वसँगको टकराव चर्किँदै जाँदा उनी साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्कासित भए, जसको परिणामस्वरूप कांग्रेस विभाजन भयो।

राजनीतिक संकट त्यतिमै सीमित रहेन। राजा ज्ञानेन्द्र शाहले देउवालाई माओवादी द्वन्द्व समाधान गर्न नसकेको आरोप लगाउँदै ‘असक्षम’ घोषित गरी सरकारबाट हटाए। पुनः सत्तामा फर्किए पनि केही महिनामै फेरि बर्खास्तीको सामना गर्नुपर्‍यो, जसले उनको राजनीतिक यात्रामा गहिरो चोट पुर्‍यायो। त्यसपछि कांग्रेस एकीकरणसँगै देउवाको पुनरागमन भयो र उनी पुनः पार्टी सभापति हुँदै पाँचौँ पटक प्रधानमन्त्रीसमेत बने।

पछिल्ला वर्षहरूमा पनि देउवाको राजनीतिक जीवन विवादरहित रहन सकेन। जेन–जी आन्दोलनका क्रममा उनी र उनकी पत्नीमाथि कुटपिट भएको तथा निवासबाट निकालिएको दाबी सार्वजनिक भयो। अहिले विशेष महाधिवेशनमार्फत पार्टी नेतृत्वसमेत गुमाउँदा देउवाको करिब पाँच दशक लामो राजनीतिक यात्राले फेरि अर्को कठिन मोड लिएको छ। निरन्तर सत्ता, संघर्ष, अपदस्थता र पुनरागमनको चक्रमा घुमिरहेकै देउवा नेपाली राजनीतिका सबैभन्दा उतारचढावपूर्ण र विवादास्पद पात्रमध्ये एकका रूपमा उभिएका छन्।