भोलिको राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री लक्सन, निर्वाचनको मिति घोषणा गर्न सक्ने

243 Shares

न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। यो वर्ष आम निर्वाचनको वर्ष भएकाले उनको सम्बोधनलाई विशेष महत्त्वका साथ हेरिएको छ। स्रोतहरूका अनुसार प्रधानमन्त्री लक्जनले आगामी आम निर्वाचनको मिति घोषणा गर्न सक्ने सम्भावना पनि रहेको छ। कानुनी प्रावधानअनुसार न्युजील्याण्डमा आम निर्वाचन १९ डिसेम्बरअगावै सम्पन्न गर्नुपर्ने हुन्छ।

हालैका जनमत सर्वेक्षणहरूमा कमजोर देखिएको नेसनल पार्टी आफ्नो जनसमर्थन पुनःउकास्ने प्रयासमा रहेको छ। अर्कोतर्फ, महँगी, जीवनयापन खर्च र आर्थिक मन्दीको दबाब झेलिरहेका किवीहरू प्रधानमन्त्रीको सम्बोधनबाट ठोस आर्थिक पुनरुत्थानका संकेतको अपेक्षा गरिरहेका छन्।

स्वास्थ्य क्षेत्र पनि भोलिको सम्बोधनमा केन्द्रमा पर्ने अनुमान गरिएको छ। अर्थमन्त्री निकोला विलिसले आगामी बजेटमा स्वास्थ्य क्षेत्रको वित्तीय संरचनामा परिवर्तन गर्ने संकेत दिएकी छन्, जसले स्वास्थ्य सेवा र अस्पताल प्रणालीमा उल्लेखनीय प्रभाव पार्न सक्नेछ।

यही मितिमा सन् २०२३ मा तत्कालीन प्रधानमन्त्री जसिन्डा आर्डर्नले अचानक राजीनामाको घोषणा गरेकी थिइन्, जसले न्युजील्याण्डको राजनीतिमा ठूलो तरंग ल्याएको थियो। त्यसपछि लेबर पार्टीका क्रिस हिप्किन्स करिब ९ महिना प्रधानमन्त्री बने। अक्टोबर २०२३ मा सम्पन्न आम निर्वाचनमा नेसनल पार्टी सबैभन्दा ठूलो दल बनेपछि क्रिस्टोफर लक्सन प्रधानमन्त्री बनेका हुन्।

भोलिको राष्ट्रको नाममा सम्बोधन ले न्युजील्याण्डको आगामी राजनीतिक दिशा, आर्थिक नीतिहरू र चुनावी वातावरण कता मोडिन्छ भन्ने स्पष्ट संकेत दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै