ताजा अपडेट

नर्थ आइल्याण्डमा भारी वर्षाको चेतावनी: नर्थल्याण्ड, अकल्याण्ड र कोरोमन्डलमा जोखिम

220 Shares

नर्थल्याण्ड, अकल्याण्डका केही भाग र कोरोमन्डलमा भारी वर्षाको चेतावनी दिइएको छ। सोमबार साँझदेखि नै ती क्षेत्रहरूमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ, जसले पहिले नै वर्षा क्षेत्रहरूमा थप जोखिम बढाउने देखिएको छ।

न्यूजील्याण्डको मौसम विभाग मेटसर्भिसले सोमबार र मंगलबारका लागि ओरेन्ज हेभी रेन वार्निङ जारी गरेको छ। बलियो र आर्द्र पूर्वी हावाको प्रभावले लामो समयसम्म निरन्तर वर्षा, सम्भावित भीषण मेघगर्जनसहितको पानी र स्थानीय स्तरमा अत्यधिक झरी पर्ने चेतावनी दिइएको छ।

नर्थल्याण्ड क्षेत्रमा आज रातिदेखि मंगलबार दिउँसोसम्म व्यापक क्षेत्रमा ११० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ। उत्तरी र पूर्वी भागमा भने १५० मिलिमिटर वा सोभन्दा बढी वर्षा हुन सक्ने मेटसर्भिसले जनाएको छ।

त्यसैगरी, हार्बर ब्रिजको उत्तरतर्फको अकल्याण्ड, ग्रेट बेरियर आइल्याण्ड र कोरोमन्डेलमा मंगलबार बिहानदेखि भारी वर्षा सुरु हुने पूर्वानुमान छ। ती क्षेत्रहरूमा सामान्यतया ८० देखि १२० मिलिमिटर वर्षा हुने सम्भावना छ भने पूर्वी तथा उचाइ भएका क्षेत्रमा १४० मिलिमिटरसम्म पानी पर्न सक्ने बताइएको छ।

मंगलबारपछि बुधबार पनि थप भारी वर्षा हुने सम्भावना रहेकाले अर्को चेतावनी जारी हुन सक्ने मेटसर्भिसले जनाएको छ। उष्णकटिबन्धीय क्षेत्रमा उत्पत्ति भएको एक न्यून चापीय प्रणाली दक्षिणपूर्वतर्फ सर्दै बुधबार नर्थ आइल्याण्ड को नजिक पुग्ने अपेक्षा गरिएको छ, जसले भारी वर्षासँगै पूर्वदेखि उत्तरपूर्व दिशाबाट बलियो हावा ल्याउनेछ।

मौसमविद्हरूका अनुसार उक्त न्यून चापीय प्रणालीको मार्ग र शक्ति अझै अनिश्चित छ। यो केन्द्रीय नर्थ आइल्याण्ड हुँदै साउथ आइल्याण्डसम्म असर फैलिन सक्ने र बुधबारको अन्त्यतिर देशको पूर्वतर्फ सर्ने सम्भावना रहेको बताइएको छ। यस अनिश्चितताका कारण आगामी पूर्वानुमानमा “महत्वपूर्ण परिवर्तन” हुन सक्ने मेटसर्भिसले चेतावनी दिएको छ।

जारी मौसम चेतावनीहरूको सूची (हेभी रेन वार्निङ – ओरेन्ज):

  • नर्थल्याण्ड: सोमबार राति ९ बजेदेखि मंगलबार दिउँसो २ बजेसम्म (१७ घण्टा)
  • हार्बर ब्रिजको उत्तरतर्फको अकल्याण्ड र ग्रेट बेरियर आइल्याण्ड: मंगलबार बिहान २ बजेदेखि साँझ ६ बजेसम्म (१६ घण्टा)
  • कोरोमन्डल : मंगलबार बिहान २ बजेदेखि बुधबार बिहान २ बजेसम्म (२४ घण्टा)

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै