प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सद्भाव कायम राख्न अपिल गरेका छन्।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै संयमता अपनाउँदै आपसी एकता भाइचारा कायम राख्न अनुरोध गरेका हुन्।
उनले नेपाली र मैथिली भाषामा सम्बोधन गरेका थिए। प्रधानमन्त्री बालेनले ४ मिनेट २८ सेकेन्ड सम्बोधन गरेका थिए।
‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ,’ उनले भने।
शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताएका छन् । साथै, उनले घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध भएको जिकिर गरे ।
‘म विश्वास दिलान चाहन्छु, यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ प्रधानमन्त्री बालेनले भने, ‘घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।’
प्रधानमन्त्री बालेनले गरेको सम्बोधनको पूर्णपाठ :
नमस्कार आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु ।
केही दिन अघि सुनसरीको देवानगञ्ज सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ ।
यस दु:खद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता ओमप्रकाश मेहता र गणेश यादव प्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु ।
घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वादीलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइएको छ ।
घटना भए लगत्तै सबै सुरक्षा निकायहरुले तत्काल घटना स्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ म सबैमा विश्वास दिलाउन चाहन्छु ।
यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जो कोही भएपनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।
अवस्था थप नबिग्रियोस् कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।
परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ ।
स्थानीय तह समेत जनप्रतिनिधि नागरिक समाज विभिन्न धार्मिक गुरुहरु समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरु सँग निरन्तर संवाद भइरहेको छ ।
स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं स्वस्थानमा पुगिसक्नु भएको छ ।
साथै देशको समग्र शान्ति सुरक्षाको अवस्था बारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ ।
यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न नगराउन अनुरोध गर्दछु । साथै सरकार निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु प्रत्येक नागरिकको जिउ धनको रक्षा गर्नु सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो ।
आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन् शान्ति सुरक्षा भंग गर्ने अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिनेछन् ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ ।
धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा घृणा र विभाजन सिकाउँदैन सबै धर्मको मूल सार करुणा दया प्रेम र शान्ति नै हो देशको कुनै एक स्थानमा भएको अनअपेक्षित र दु:खद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायचित वा न्यायसंगत हुन सक्दैन ।
आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु,
हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।
हम आम नागरिक नागरिक समाज धार्मिक समुदाय सब आदरणीय अगुवा सब राजनीतिक दल आज जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति सद्भाव भाइचारा आज राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छि ।
धन्यवाद


