देउवा युगको अन्त्य: शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने

196 Shares

नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले यो जानकारी सार्वजनिक गर्दै भने,
“शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।”

पूर्वसभापति देउवा डडेल्धुरा निर्वाचन क्षेत्रबाट पुनः उम्मेदवारी दिन इच्छुक भए पनि कांग्रेस नेतृत्व त्यसको पक्षमा देखिएको थिएन। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षकको भूमिकामा रहँदै अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको थियो।

कांग्रेसका एक पदाधिकारीका अनुसार,
“निवर्तमान सभापतिज्यूले आज बेलुकीसम्म पनि अन्तिमपटक डडेल्धुराबाट चुनाव लड्न चाहेको सन्देश पठाइरहनुभएको थियो। तर उहाँलाई अभिभावकीय भूमिकामा सीमित रहन सुझाव दिइयो। उहाँलाई उम्मेदवार बनाउँदा पार्टीभित्र सुरु भएको रूपान्तरण र पुस्तान्तरणको सन्देश कमजोर हुने ठहर गरिएको हो।”

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते सोमबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवार चयनमा जित्ने सम्भावनालाई प्राथमिकता दिने तयारीमा रहेको संस्थापन पक्ष देउवालाई टिकट दिने विषयमा भने सहमत देखिएको थिएन।

शेरबहादुर देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै आएका थिए र अहिलेसम्म सात पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। गृहमन्त्री हुँदै पाँच पटक प्रधानमन्त्री बनेका देउवाको निर्वाचन राजनीतिबाट अलग हुने निर्णयलाई नेपाली राजनीतिमा एक युगको अन्त्यका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै