देशभर १४० भन्दा बढी NZ Post काउन्टर बन्द हुने

263 Shares

न्युजील्याण्ड पोस्ट (NZ Post) ले देशभरका १४२ वटा सेवा काउन्टर बन्द गर्ने घोषणा गरेको छ। राज्य स्वामित्वको कम्पनीका अनुसार कन्भिनियन्स स्टोर, फार्मेसी र पुस्तकालयभित्र सञ्चालित ५६७ वटा पोस्ट शप देशभर खुला रहनेछन् र ग्रामीण क्षेत्रका पोस्ट शपहरू प्रभावित नहुने स्पष्ट गरिएको छ।


कम्पनी र सरकारबीच भएको Deed of Understanding को अद्यावधिकपछि यो निर्णय आएको हो। सन् १९८० को दशकदेखि पहिलोपटक न्यूनतम पोस्ट शप आवश्यकतामा पुनर्संरचना गरिएको NZ Post ले जनाएको छ।
NZ Post की उपभोक्ता सेवा महाप्रबन्धक सारा स्यान्डोभाल का अनुसार पछिल्लो समीक्षाले पार्सल सेवाको माग उल्लेखनीय रूपमा बढेको देखाएको छ। “अहिले ग्राहकहरू चिठीभन्दा धेरै पार्सल पठाउन र लिन NZ Post मा निर्भर छन्। त्यसैले वर्तमान र भविष्यका प्रयोगअनुसार खुद्रा सञ्जाल सन्तुलनमा ल्याउन आवश्यक भयो,” उनले भनिन्।
उनका अनुसार बाँकी रहने नेटवर्क स्टोरहरूको आकार र पहुँच देशका कुनै पनि सुपरमार्केट वा बैंक सञ्जालभन्दा ठूलो रहनेछ। “शहरी क्षेत्रमा बसोबास गर्ने ९० प्रतिशत किवीहरू अझै पनि ४ किलोमिटरभित्र NZ Post स्टोर पाउनेछन्,” उनले थपिन्।
NZ Post ले केही बाँकी स्टोरहरू अपग्रेड गर्ने र नयाँ रिटेल हब विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ। पार्सल पठाउन, लिन र फिर्ता गर्न लक्षित यस्ता हबहरू Auckland (न्यूमार्केट र हार्डिन्ज स्ट्रिट) मा सञ्चालनमा आइसकेका छन् भने यसै वर्ष Christchurch र Palmerston North मा पनि खोल्ने तयारी छ।
कम्पनीले स्थानीय स्तरमा हुने कुनै पनि परिवर्तनबारे समुदायलाई अग्रिम जानकारी दिइने र नजिकको सेवाबारे वेबसाइट वा स्टोरभित्रका सूचनामार्फत जानकारी लिन सकिने जनाएको छ।

सम्बन्धित समाचार

सबै