आजदेखि आईसीसी टी–२० विश्वकप सुरु हुँदै

219 Shares

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। बहुप्रतीक्षित प्रतियोगिताको उद्घाटन खेल सह–आयोजक भारतले अमेरिकाविरुद्ध मुम्बईस्थित वाङ्खेडे स्टेडियममा खेल्दै उपाधि रक्षा अभियानको सुरुआत गर्नेछ। उद्घाटन दिन तीन खेल आयोजना हुने भए पनि भारत–अमेरिकाबीचको खेलअघि हुने भव्य उद्घाटन समारोह सबैको मुख्य आकर्षण रहनेछ।

आईसीसीका अनुसार वाङ्खेडे रंगशालामा आयोजना हुने उद्घाटन समारोहले प्रतियोगिताको रोमाञ्चक माहोल तयार गर्नेछ। खेल र मनोरञ्जनलाई एकै मञ्चमा जोड्दै तयार गरिएको समारोहमा संगीत, नृत्य र दृश्यात्मक प्रस्तुतिहरू समेटिनेछन्। रंगशालालाई विशेष मञ्चको रूपमा प्रयोग गर्दै टी–२० क्रिकेटको तीव्रता र ऊर्जा झल्काउने प्रयास गरिएको छ।

उद्घाटन समारोहमा भारतीय कलाकार ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन्। ऋषभ शर्मा र शिवमणिको शक्तिशाली सांगीतिक मेड्लीबाट कार्यक्रम सुरु हुनेछ भने त्यसपछि विभिन्न दृश्यात्मक प्रस्तुतिहरू देखाइनेछन्। चर्चित गायक बादशाहको ऊर्जाशील प्रस्तुति र नोरा फतेहीको समूह नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाउने अपेक्षा गरिएको छ।

समारोहको क्रममा आईसीसी पुरुष टी–२० विश्वकप ट्रफीलाई जेटप्याक कलाकारमार्फत आकर्षक शैलीमा रंगशालाभित्र प्रवेश गराइनेछ। ट्रफीलाई आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले स्वागत गर्नेछन्। साथै प्रतियोगितामा सहभागी २० राष्ट्रका प्रतिनिधित्व गर्ने २० जना युवा दूतहरूको उपस्थितिमा विश्वकपको औपचारिक उद्घाटन गरिनेछ।

आईसीसीका अनुसार उद्घाटन समारोहमा प्रवेश खेलका लागि टिकट लिएका दर्शकहरूलाई मात्र दिइनेछ। कुनै पनि महत्वपूर्ण क्षण नछुटोस् भनेर समयमै रंगशालामा पुग्न दर्शकहरूलाई अनुरोध गरिएको छ। उद्घाटन समारोहको समापन भव्य आतिशबाजीसँगै हुनेछ र त्यसपछि साँझ ७ बजे भारत र अमेरिकाबीचको खेलबाट प्रतिस्पर्धा सुरु हुनेछ।

उद्घाटनसँगै भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपको १०औं संस्करण औपचारिक रूपमा सुरु हुनेछ। प्रतियोगितामा २० राष्ट्र सहभागी छन्, जसलाई चार समूहमा विभाजन गरिएको छ। कुल ५५ खेल खेलाइने यस विश्वकपमा सबै टोलीले उपाधि जित्ने लक्ष्यसहित मैदानमा प्रतिस्पर्धा गर्नेछन्।

अरब सागरको किनारमा अवस्थित वाङ्खेडे स्टेडियम उद्घाटन खेलका लागि लगभग पूर्ण रूपमा तयार भइसकेको छ। पिच, बाउन्ड्री लाइन, स्कोरबोर्ड, डिजिटल स्क्रिन तथा प्रत्यक्ष प्रसारणका क्यामेराहरू जडान भइसकेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने शनिबारको खेलका लागि अधिकांश टिकटहरू सोल्डआउट भइसकेका छन्, जसले क्रिकेट समर्थकको उत्साह उच्च देखिएको छ।

सम्बन्धित समाचार

सबै