न्युजिल्याण्ड सरकारले इरानको आणविक कार्यक्रम, क्षेत्रीय अस्थिर गतिविधि तथा आफ्नै नागरिकमाथिको दमनको निरन्तर आलोचना गर्दै आएको जनाएको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इरानले दशकौँदेखि अन्तर्राष्ट्रिय समुदायको अपेक्षा र निर्णयको अवज्ञा गर्दै आएको उल्लेख गर्दै सरकारको वैधता आफ्नै जनताको समर्थनमा निर्भर हुने बताएका छन्। उनका अनुसार इरानी शासनले त्यो समर्थन धेरै अघि नै गुमाइसकेको छ।
प्रधानमन्त्रीले पछिल्लो रात अमेरिका र इजरायलले गरेको कारबाही इरानबाट अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा उत्पन्न खतरालाई रोक्ने उद्देश्यले गरिएको बताउँदै त्यसको सन्दर्भलाई स्वीकार गरिएको जनाएका छन्। साथै, इरानले कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कुवेत, बहराइन र जोर्डनमाथि गरेको अन्धाधुन्ध प्रतिकारात्मक आक्रमणको न्युजिल्याण्डले कडा शब्दमा निन्दा गरेको छ।
उनले थप क्षेत्रीय तनाव बढ्न नदिनु अत्यन्त आवश्यक रहेको र सर्वसाधारण नागरिकको जीवनको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। न्युजिल्याण्डले अन्तर्राष्ट्रिय समुदायसँगै यो संकट छिटो अन्त्य होस् भन्ने आशा व्यक्त गर्दै वार्ताको पुनः सुरुवात र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न आह्वान गरेको छ। साथै, इरानी नेतृत्वलाई वार्तामार्फत समाधान खोज्दै इरानलाई पुनः अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने दिशामा अघि बढ्न आग्रह गरिएको छ।
प्रधानमन्त्री लक्सनले मध्यपूर्वमा जारी आक्रमण र बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले न्युजिल्याण्ड सरकारका विभिन्न निकायहरूले उक्त क्षेत्रको अवस्थाबारे आफूलाई नियमित रूपमा जानकारी गराइरहेको बताएका छन्।
प्रधानमन्त्री लक्सनका अनुसार आक्रमण प्रभावित देशहरूमा हजारौँ न्युजिल्याण्ड नागरिक रहेका छन्। यद्यपि हालसम्म कुनै पनि न्युजिल्याण्ड नागरिक घाइते भएको वा प्रत्यक्ष रूपमा प्रभावित भएको आधिकारिक जानकारी प्राप्त नभएको उनले स्पष्ट पारे।
उनले प्रभावित क्षेत्रहरूमा रहेका न्युजिल्याण्डवासीलाई स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन्। विशेषगरी घरभित्रै सुरक्षित रहनुपर्ने जस्ता निर्देशनहरू कडाइका साथ पालना गर्न र यदि सुरक्षित रूपमा त्यहाँबाट बाहिरिन सक्ने अवस्था भए त्यसो गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्रीले त्यहाँ रहेका सबै न्युजिल्याण्ड नागरिकलाई सुरक्षित यात्रा प्रणालीमा आफ्नो विवरण दर्ता गर्न पनि आग्रह गरेका छन्, जसबाट न्युजिल्याण्ड सरकारले आवश्यक परेमा तत्काल सूचना, सहयोग र उद्धारसम्बन्धी समन्वय गर्न सक्नेछ।
मध्यपूर्वमा पछिल्ला दिनहरूमा भएका आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ, जसले विश्वभरका देशहरूलाई आफ्ना नागरिकको सुरक्षाबारे सतर्क रहन बाध्य बनाएको छ।


