कसरी हुदै छ नेपालमा प्रतिनिधि सभाको निर्वाचन ? – New Zealand News Nepal (NZ News Nepal)

कसरी हुदै छ नेपालमा प्रतिनिधि सभाको निर्वाचन ?

   March 5, 2026  

नेपालमा आज प्रतिनिधिसभा निर्वाचन देशभर हुदै छ। निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ३ हजार ६८० अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्र रहेका छन्। साथै १४३ अस्थायी मतदान स्थलसमेत तय गरिएको छ।

निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। साथै दुई लाख १५ हजार सरकारी कर्मचारी निर्वाचनमा परिचालित भएका छन्।

निर्वाचन आयोगका अनुसार विगतका निर्वाचनजस्तै यसपटक पनि तीन घेराको सुरक्षा व्यवस्था लागू गरिएको छ। बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी खटिएका छन्। आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयसँगको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताएका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार निर्वाचन बिथोल्ने कुनै भूमिगत तत्व हालसम्म पहिचान भएको छैन।

यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी छन्। जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता रहेका छन्। जेनजी आन्दोलनपछि झण्डै १० लाख नयाँ मतदाता थपिएका छन्। पछिल्लो एक सातामा करिब आठ लाखले काठमाडौं उपत्यका छाडेको तथ्यले पनि मतदाताको उत्साह झल्काएको छ। नयाँ र युवा मतदाताको सहभागिताले मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने अनुमान गरिएको छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन्। प्रत्यक्षतर्फ ३ हजार ४०६ र समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। दुवैतर्फ गरी ६ हजार ५४१ उम्मेदवार २७५ सिटका लागि चुनावी मैदानमा उत्रिएका छन्।

यस निर्वाचनमा युवा उम्मेदवारको संख्या उल्लेखनीय रूपमा बढेको छ। ४० वर्ष वा सोभन्दा कम उमेरका उम्मेदवारको संख्या १ हजार ८२ रहेको छ, जसमा ५७१ स्वतन्त्र उम्मेदवार छन्। प्रमुख दलहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै युवा उम्मेदवार अघि सारेको छ भने श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पनि उल्लेख्य संख्यामा युवा उम्मेदवार मैदानमा छन्।

समग्रमा कडा सुरक्षा व्यवस्था, उच्च मतदाता सहभागिता र युवा पुस्ताको सक्रिय उपस्थितिले यसपटकको निर्वाचनलाई ऐतिहासिक र निर्णायक अभ्यासका रूपमा हेरिएको छ। निर्वाचन आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न अपिल गरेको छ। 🇳🇵