काठमाडौं जिल्लाका १० वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ। बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि मतपेटिका संकलन, सिलबन्दी तथा सुरक्षित स्थानमा ढुवानी गर्ने काम पूरा भएसँगै मतगणनाको तयारी तीव्र बनाइएको हो।
निर्वाचन कार्यालयका अनुसार मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, स्थान तथा समयबारे सहमति भएपछि आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
काठमाडौंका सबै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थल वरपर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायलाई परिचालन गरिएको जनाइएको छ।
यस पटक काठमाडौंका १० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। मतगणना सुरु भएपछि प्रारम्भिक परिणामहरू क्रमशः सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ।


