आईसीसी टी–२० विश्वकप २०२६ को उपाधिका लागि आज राति साबिक विजेता भारत र न्युजिल्याण्ड आमनेसामने हुँदैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेल न्युजिल्याण्ड समय अनुसार आज राति २:३० बजे सुरु हुने तालिका छ।
घरेलु मैदानमा हुने यो फाइनल भारतका लागि ऐतिहासिक अवसर बनेको छ। भारतीय क्रिकेट टोलीले जित हात पार्न सके विश्व क्रिकेटमा एकैपटक तीन ऐतिहासिक कीर्तिमान बनाउने सम्भावना छ।
भारतले न्युजिल्याण्डलाई पराजित गर्न सके आयोजक राष्ट्रका रूपमा टी–२० विश्वकप जित्ने पहिलो टोली, उपाधि रक्षा गर्ने पहिलो टोली तथा तीन पटक टी–२० विश्वकप जित्ने पहिलो टोली बन्नेछ।
सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपको यो दशौँ संस्करण भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेका हुन्। सह–आयोजक श्रीलंका भने सुपर–८ चरणबाटै प्रतियोगिताबाट बाहिरिएको थियो।
दश संस्करणसम्म आइपुग्दा भारत, इंग्ल्यान्ड र वेस्ट इन्डिजले मात्र दुई–दुई पटक टी–२० विश्वकप जितेका छन्। तर यीमध्ये कुनै टोलीले पनि अहिलेसम्म उपाधि रक्षा गर्न सकेका छैनन्।
भारतले सन् २००७ र २०२४ मा उपाधि जितेको थियो। इंग्ल्यान्डले २०१० र २०२२ मा तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी–२० विश्वकप जितेका थिए। त्यस्तै पाकिस्तानले २००९, श्रीलंकाले २०१४ र अष्ट्रेलियाले २०२१ मा उपाधि जितेका थिए।
घरेलु मैदानमा फाइनल खेल्न लागेको भारत यसपटक कीर्तिमानी प्रदर्शन गर्ने योजनामा छ। भारत चौथो पटक टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि २०१४ मा फाइनल पुगे पनि उपविजेतामा सीमित भएको थियो भने २०१६ र २०२२ मा सेमिफाइनलबाटै बाहिरिएको थियो।
भारतले बिहीबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
यता न्युजिल्याण्डले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा साबिक उपविजेता दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
दोस्रो पटक फाइनल पुगेको न्युजिल्याण्ड पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदैछ। अहिलेसम्म टी–२० विश्वकप जित्न नसकेको न्युजिल्याण्ड भारतलाई घरेलु मैदानमै स्तब्ध पार्दै पहिलो उपाधि उचाल्ने योजनामा छ।
यसअघि सन् २०२१ मा न्युजिल्याण्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको थियो। तर अष्ट्रेलियासँग पराजित हुँदै उपविजेतामा सीमित हुनुपरेको थियो। त्यसअघि २००७, २०१६ र २०२२ मा भने न्युजिल्याण्ड सेमिफाइनलबाटै बाहिरिएको थियो।
यसपटक भने न्युजिल्याण्ड अघिल्ला खेलहरूका कमजोरी सुधार्दै भारतविरुद्ध उपाधिका लागि बलियो चुनौती पेश गर्ने रणनीतिमा छ।


