भारतले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएको छ। आइतबार एहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल बनाएको थियो। भारतका लागि सञ्जु स्यामसनले ४६ बलमा ८९ रनको उत्कृष्ट इनिङ्स खेले। उनले टी–२० विश्वकप फाइनलमा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमानसमेत कायम गरे।
त्यस्तै अभिषेक शर्मा २१ बलमा ५२ रन र ईशान किशनले २५ बलमा ५४ रन बनाउँदै भारतलाई बलियो अवस्थामा पुर्याएका थिए।
२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डको टोली १९ ओभरमै १५९ रनमा अलआउट भयो। भारतीय बलिङतर्फ जसप्रित बुमराहले घातक प्रदर्शन गर्दै ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट झारे।
यो जितसँगै भारतले टी–२० विश्वकप इतिहासमा तेस्रो पटक उपाधि जितेको छ भने लगातार दुई संस्करण जित्ने पहिलो टोली बन्न सफल भएको छ।


