१६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, रास्वपा सबैभन्दा ठूलो दल – New Zealand News Nepal (NZ News Nepal)

१६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक, रास्वपा सबैभन्दा ठूलो दल

   March 10, 2026  

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ।

सबैभन्दा अन्तिममा संखुवासभा को मत परिणाम सोमबार राति सार्वजनिक गरिएको हो। उक्त क्षेत्रमा नेकपा एमाले का अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी का मिङ्मा शेर्पालाई पराजित गर्दै विजयी भएका छन्।

यसैबीच उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा–१ मा आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ। उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार भने अदालत पुगेका छन्।

प्रत्यक्षतर्फको अन्तिम परिणामअनुसार रास्वपाले सबैभन्दा धेरै १२५ सिट जित्दै प्रतिनिधि सभामा ठूलो दल बनेको छ। त्यस्तै नेपाली कांग्रेस ले १८ सिट, एमालेले ९ सिट, नेकपाले ८ सिट, श्रम संस्कृति पार्टी ले ३ सिट तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ सिट जितेका छन्।

त्यसैगरी महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभा चयनका लागि फागुन २१ गते देशभर मतदान भएको थियो। अहिले समानुपातिकतर्फको मतगणना जारी रहेको छ र करिब एक करोड मत गणना भइसकेको आयोगले जनाएको छ।

समानुपातिकतर्फ पनि रास्वपाले उल्लेखनीय मत प्राप्त गरिरहेको देखिएको छ। हालसम्मको मत परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्।