न्युजिल्याण्डमा क्षेत्रीय उडान सञ्चालन गर्दै आएको Air Chathams ले विमान इन्धनको मूल्य बढेपछि सबै उडानमा २० डलर इन्धन अधिभार (फ्युल सरचार्ज) लगाउने घोषणा गरेको छ। कम्पनीले इन्धनको लागत अत्यधिक बढेकाले यस्तो निर्णय गर्नुपरेको जनाएको छ।
यो घोषणा Air New Zealand ले मंगलबार भाडा बढाउने निर्णय सार्वजनिक गरेको केही घण्टापछि आएको हो। एयर न्युजिल्याण्डले आवश्यकता परे फेरि भाडा बढाउन र उडान मार्गहरूको पुनरावलोकन गर्नुपर्ने अवस्था आउन सक्ने संकेत पनि दिएको छ।
एयर चाथम्सले जारी गरेको विज्ञप्तिमा न्युजिल्याण्डमा विमान इन्धनको मूल्य “उल्लेखनीय रूपमा बढेको” उल्लेख गरिएको छ। यसको प्रमुख कारण मध्यपूर्व क्षेत्रमा जारी युद्ध रहेको कम्पनीको भनाइ छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने महत्वपूर्ण समुद्री मार्ग Strait of Hormuz द्वन्द्वका कारण प्रभावकारी रूपमा बन्दजस्तै अवस्थामा पुगेको छ।
यस द्वन्द्व सुरु भएपछि जेट इन्धनको मूल्य अत्यन्त अस्थिर बनेको छ। कतिपय अवस्थामा यसको मूल्य १२० प्रतिशतभन्दा बढीले समेत बढेको जनाइएको छ।
एयर चाथम्सले लागू गर्ने २० डलर अधिभार टिकट बुकिङ गर्दा मूल्यमा थपिनेछ। तर यसअघि खरिद गरिएका टिकटमा भने यो शुल्क लाग्ने छैन। कम्पनीले इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि उक्त अधिभार हटाइने र नियमित रूपमा समीक्षा गरिने जनाएको छ।
उता एयर न्युजिल्याण्डले आन्तरिक उडानका एकतर्फी इकोनोमी टिकटमा १० डलर, छोटो दूरीका अन्तर्राष्ट्रिय उडानमा २० डलर र लामो दूरीका उडानमा ९० डलरसम्म भाडा बढाउने निर्णय गरेको छ। जेट इन्धनको मूल्य उच्च नै रहिरहे थप भाडा वृद्धि, उडान सञ्जाल तथा तालिकामा परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रयटर्सले जनाएको छ।
इन्धन बजारको अभूतपूर्व अस्थिरताका कारण एयर न्युजिल्याण्डले केही साताअघि सार्वजनिक गरेको आफ्नो आम्दानीसम्बन्धी पूर्वानुमान समेत स्थगित गरेको छ। कम्पनीका अनुसार यसले चालु आर्थिक वर्षको दोस्रो भागको आम्दानीमा उल्लेखनीय असर पार्ने देखिएको छ।
त्यस्तै Qantas ले पनि अन्तर्राष्ट्रिय उडानको भाडा बढाएको छ भने मध्यपूर्व क्षेत्रमा भइरहेको अवरोधबाट बच्न युरोपतर्फ क्षमता सार्ने विकल्पको खोजी गरिरहेको बताइएको छ। उता Singapore Airlines ले युरोपका लागि आवत–जावत टिकटमा १४० डलरसम्म भाडा बढाएको जनाएको छ।
यात्रा एजेण्ट भिन्सेन्ट जर्जका अनुसार हवाई भाडा वृद्धि केवल इन्धन महँगिनुको कारण मात्र नभई माग र आपूर्तिको असन्तुलनका कारण पनि हो। उनका अनुसार मध्यपूर्व हुँदै उडान गर्ने केही ठूला एयरलाइन्स प्रभावित भएपछि यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्, जसका कारण ती मार्गमा क्षमता घट्दै जाँदा भाडा समेत बढ्ने अवस्था सिर्जना भएको छ।


