एयर न्युजिल्याण्डले इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वका कारण जेट इन्धन बजारमा “अत्यधिक अस्थिरता” देखिएको भन्दै हवाई भाडा समायोजन गरिएको र आवश्यक परे थप मूल्यवृद्धि तथा उडान तालिकामा परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ।
कम्पनीका अनुसार पछिल्ला केही दिनमै जेट इन्धनको प्रति ब्यारेल मूल्य ठूलो उछाल आएको छ। यसअघि प्रतिव्यारेल करिब ८५ देखि ९० अमेरिकी डलरको बीचमा रहेको मूल्य अहिले बढेर करिब १५० देखि २०० अमेरिकी डलरसम्म पुगेको छ।
यसैबीच एयर न्युजिल्याण्डले आफ्नो आम्दानीसम्बन्धी पूर्वानुमान (इर्निङ गाइड्यान्स) अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ। कम्पनीले इन्धन बजार र सञ्चालन अवस्था स्थिर नभएसम्म यसअघि गरिएको पूर्वानुमान उपयुक्त नरहेको जनाएको छ।
एयरलाइन्सका अनुसार प्रारम्भिक रूपमा केही भाडा समायोजन गरिसकिएको छ। तर द्वन्द्व लम्बिँदै गएर जेट इन्धनको मूल्य उच्च नै रहिरहे थप मूल्य समायोजन गर्नुपर्ने र उडान सञ्जाल तथा तालिका पनि आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने कम्पनीले बताएको छ।
उता सेयर बजारमा पनि यसको प्रभाव देखिएको छ। मंगलबार कम्पनीको सेयर मूल्य करिब ७.८४ प्रतिशतले घटेको छ। बिहान १० बजे बजार खुल्दा ५१ सेन्ट रहेको सेयर मूल्य कारोबार बन्द हुँदा ४७ सेन्टमा झरेको थियो।
गत महिना एयर न्युजिल्याण्डले करअघि ५९ मिलियन डलर घाटा भएको जनाएको थियो। कम्पनीले यसमा विश्वव्यापी इन्जिन मर्मतसम्भारको प्रभाव, सञ्चालन लागतको उतारचढाव र आन्तरिक यात्रु माग अपेक्षाअनुसार नबढ्नु मुख्य कारण रहेको बताएको थियो।
यसअघि कम्पनीले आर्थिक वर्षको दोस्रो भागको आम्दानी पहिलो भागसँग मिल्दोजुल्दो वा केही कम हुन सक्ने अनुमान गरेको थियो। तर अहिले इन्धन मूल्य संकटका कारण दोस्रो भागको आम्दानीमा उल्लेखनीय असर पर्ने सम्भावना रहेको बताइएको छ।
कम्पनीले लागत घटाउने विभिन्न पहलहरू अघि बढाइरहेको जनाएको छ, जसले बढ्दो खर्चको केही दबाब कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
त्यस्तै एयर न्युजिल्याण्डले आर्थिक वर्ष २०२६ को दोस्रो भागका लागि कच्चा तेलको मूल्यतर्फ करिब ८३ प्रतिशत हेजिङ गरेको जनाएको छ। तर जेट इन्धनको मूल्य निर्धारणमा पर्ने अर्को कारक “क्र्याक स्प्रेड” (कच्चा तेल र प्रशोधित जेट इन्धनबीचको मूल्य अन्तर) को उतारचढावबाट भने कम्पनी अझै प्रभावित हुन सक्ने बताइएको छ।
कम्पनीका अनुसार द्वन्द्व सुरु हुनु अघि करिब २२ अमेरिकी डलर प्रतिव्यारेल रहेको क्र्याक स्प्रेड बढेर केही समयमै ११५ अमेरिकी डलरसम्म पुगेको छ। एयर न्युजिल्याण्डले मार्चदेखि जुनसम्म बाँकी आर्थिक वर्षका लागि करिब २.९ मिलियन ब्यारेल जेट इन्धन प्रयोग हुने अनुमान गरेको छ।


