नेपालमा न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री जसिन्डा आर्डेन चर्चामा आएकी छन्। हालै उनी अस्ट्रेलियामा बसाइँ सरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा नेपाली समाजमा उनको चर्चा फेरि सुरु भएको हो।
आर्डेन सन् २०१७ मा ३७ वर्षको उमेरमा न्युजिल्याण्डको प्रधानमन्त्री बनेकी थिइन्। त्यस समय उनी विश्वकै कम उमेरमा प्रधानमन्त्री बनेकी नेतृमध्ये एक मानिन्थिन्। युवा उमेरमै नेतृत्व सम्हालेकी उनले अन्तर्राष्ट्रिय राजनीतिमा फरक शैलीको नेतृत्व प्रस्तुत गरेकी थिइन्।
अब नेपालमा पनि ३५ वर्षीय बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित छ । त्यसैले पनि आर्डेनको चर्चा नेपालमा भईरहेको छ ।
आर्डेनको कार्यकालमा विशेषगरी मानवीय र सहानुभूतिपूर्ण नेतृत्वका कारण उनी विश्वभर चर्चित भइन्। सन् २०१९ मा Christchurch mosque shootings पछि उनले देखाएको सहानुभूति, मुस्लिम समुदायप्रति गरेको समर्थन र “They are us” भन्ने सन्देशले विश्वभर प्रशंसा पाएको थियो।
त्यसैगरी COVID-19 महामारीका बेला कडा स्वास्थ्य नीति र स्पष्ट सञ्चारका कारण पनि उनको नेतृत्वलाई सफल उदाहरणका रूपमा चर्चा गरियो।
सन् २०२३ को सुरुमा उनले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै आफूमा नेतृत्व जारी राख्न आवश्यक ऊर्जा अब नभएको बताएकी थिइन्। पद छोडेपछि उनी अन्तर्राष्ट्रिय अध्ययन, व्याख्यान तथा विभिन्न सामाजिक पहलमा सक्रिय रहँदै आएकी छन्।
हाल उनी अस्ट्रेलियामा बसोबास गर्न थालेपछि फेरि एकपटक अन्तर्राष्ट्रिय मिडिया र सामाजिक सञ्जालमा उनको चर्चा बढेको छ। धेरैले उनलाई आधुनिक राजनीतिमा सहानुभूतिपूर्ण र मानवीय नेतृत्वको प्रतीकका रूपमा सम्झिने गरेका छन्।


