बानेश्वरको ‘संसद भवन’ अब इतिहास मात्र – New Zealand News Nepal (NZ News Nepal)

बानेश्वरको ‘संसद भवन’ अब इतिहास मात्र

   March 11, 2026  

नेपालको गणतान्त्रिक इतिहासको झन्डै दुई दशक लामो संसदीय अभ्यासको केन्द्र बनेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब इतिहास बन्ने भएको छ।

२०६४ सालको संविधानसभा निर्वाचन, राजतन्त्र अन्त्यको घोषणा, २०७२ सालको संविधान जारी हुँदै संघीय संसद्को अभ्याससम्मका महत्वपूर्ण राजनीतिक घटनाहरूको साक्षी बनेको यो भवन अब प्रयोगबाट हट्ने अवस्थामा पुगेको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको निशानामा परेर भवन क्षतिग्रस्त भएपछि संसदीय गतिविधि अब सिंहदरबारस्थित नयाँ संघीय संसद् भवनमा सार्ने निर्णय लगभग निश्चित भएको छ। चिनियाँ सहयोगमा निर्माण गरिएको उक्त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद्का लागि भाडामा प्रयोग हुँदै आएको थियो।

यसबीच सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको भौतिक निर्माण कार्य करिब ९४ प्रतिशत सम्पन्न भइसकेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रतिनिधिसभाको मुख्य हल प्राविधिक कारणले तत्काल सञ्चालन गर्न नसकिने अवस्था रहेको बताइएको छ।

त्यसैले सुरुवाती चरणमा सोही भवनभित्रको वैकल्पिक हलबाट प्रतिनिधिसभा तथा संसदीय बैठक सञ्चालन गर्ने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ।