न्युजिल्याण्डमा सवारी दुर्घटना: साउथल्याण्डमा दुई नेपालीको मृत्यु

1.2K Shares

न्युजिल्याण्डको साउथल्याण्ड क्षेत्रमा मंगलबार बिहान दुई सवारीसाधन ठोक्किदा भएको दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब ८:४० बजे साउथल्याण्डको आइला बैंक (Isla Bank) क्षेत्रस्थित फेयरफ्याक्स–आइला बैंक रोड र आइला बैंक–फ्लिन्ट्स बुश रोड को चोकमा दुर्घटना भएको जानकारी आपतकालीन सेवाले प्राप्त गरेको थियो। यो स्थान ओटाउटाउ नजिक पर्दछ।

प्रहरी प्रवक्ताले बताएअनुसार आपतकालीन सेवाले व्यापक प्रयास गरे पनि दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको हो। मृतक दुबै जना नेपाली नागरिक रहेको पुष्टि भएको छ। दुर्घटनापछि सडक लामो समयसम्म बन्द गरिएको थियो र सिरियस क्र्यास युनिट ले घटनास्थलको अनुसन्धान गरेपछि मात्र सडक पुनः सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

मृतकहरू साउथल्याण्डस्थित ब्लूबेरी फार्ममा कार्यरत कर्मचारी रहेको बताइएको छ। सोही कम्पनी ब्लूबेरी कन्ट्री साउथल्याण्ड ले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै आफ्ना दुई कर्मचारी काममा जाँदै गर्दा दुर्घटनामा ज्यान गुमाएको जनाएको छ।

कम्पनीले भनेको छ, “हामी सबै स्तब्ध र शोकाकुल छौं। उनीहरू हाम्रो टोलीका अत्यन्तै मूल्यवान सदस्य थिए।”

उक्त दुर्घटनामा कम्पनीका अर्का एक कर्मचारी घाइते भएका छन्। कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

यसैबीच नेपाली समुदायले पीडित परिवारका लागि सहयोग अभियान सुरु गरेको छ। कठिन समयमा परिवारलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले साउथल्याण्ड नेपाली समाज (Southland Nepalese Society) ले स्वेच्छिक आर्थिक सहयोग संकलन सुरु गरेको जनाएको छ।

समाजले जारी गरेको अपिलमा भनिएको छ, “यस कठिन समयमा तपाईंको सानो सहयोगले पनि परिवारलाई ठूलो राहत पुग्न सक्छ। साउथल्याण्ड नेपाली समाज सम्पूर्णमा सकेको सहयोग गर्न हार्दिक अनुरोध गर्दछ।”

सहयोग गर्न इच्छुक व्यक्तिहरूले तल दिइएको बैंक खातामा स्वेच्छिक सहयोग पठाउन सक्ने समाजले जनाएको छ।

Account Name: Southland Nepalese Society Inc.
Account No: 03-1750-0453388-00
Reference: “Pathak Family”

समाजले सबैलाई दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई प्रार्थना र सम्झनामा राखिदिन पनि अनुरोध गरेको छ।

सम्बन्धित समाचार

सबै