ट्युसन पढ्न गएकी १६ वर्षीया किशोरी घर फर्केर नआएपछि सुर्खेतमा भएको एक दर्दनाक घटनाले सबैलाई स्तब्ध बनाएको छ। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा विक शनिबार बिहान घरबाट ट्युसन पढ्न भनेर निस्किएकी थिइन्, तर त्यसपछि उनी कहिल्यै घर फर्किनन्।
इनिसाका बुवा इन्द्रबहादुर विक रोजगारीका लागि दुबईमा कार्यरत छन् भने आमा तिला विक छोराछोरीको पढाइका लागि वीरेन्द्रनगर–१ मा बस्दै आएकी थिइन्। इनिसा वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका स्कुलमा कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययनरत थिइन्। डाक्टर बन्ने सपना बोकेकी उनी शनिबार बिहान ६ बजे ट्युसन पढेर दुई घण्टामा फर्किने भन्दै घरबाट निस्किएकी थिइन्।
तर बिहान ९ बजेसम्म पनि छोरी घर नफर्किएपछि आमा तिलाले फोन गर्दा मोबाइल ‘स्विच अफ’ आएको थियो। त्यसपछि उनले स्कुलमा फोन गरिन्, तर त्यहाँबाट पनि कुनै जानकारी पाइएन। छोरीलाई कम्प्युटर पढाउने शिक्षक माधव सरलाई फोन गर्दा उनको फोन पनि बन्द थियो।
छोरी आएपछि गुर्भाकोट जाने तयारी गरेर बसेकी आमाको मन अत्तालिन थाल्यो। केही समयपछि भने नयाँ नम्बरबाट फोन आयो, जसमा इनिसा शहीद पार्क नजिकको जंगलमा बेहोस अवस्थामा रहेको खबर दिइयो।
आमा सानो छोरा च्यापेर हतारिँदै पार्क पुगिन्। तर त्यहाँको दृश्य अत्यन्तै पीडादायी थियो। वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा इनिसा अचेत अवस्थामा भेटिएकी थिइन्। उनको शरीरमा कपडा थिएन र एउटा ज्याकेटले मात्र छोपिएको थियो। शरीर रक्ताम्मे, कपाल लुछिएको र वरपरको घाँस मडारिएको अवस्थामा भेटिएको थियो।
प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि चिकित्सकले मृत घोषणा गरे। छोरीको यस्तो अवस्थाले आमा घटनास्थलमै बेहोस भएकी थिइन्।
यस घटनापछि परिवार र स्थानीयवासी स्तब्ध भएका छन्। आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्।
अनुसन्धान जारी, ४ जना पक्राउ
प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरिएको छ। प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकामध्ये तीन जना मृतकका सहपाठी रहेका छन्।
उनका अनुसार घटनाको दिन ट्युसन नभए पनि घरमा बहाना बनाएर बाहिर निस्किएको देखिएको छ। चारै जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट नआएकाले घटनाको पूर्ण विवरण खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धानमा घटनास्थलमा शारीरिक सम्बन्ध भएको देखिएको र अत्यधिक रक्तस्राव भएको पाइएको छ।
प्रहरी नियन्त्रणमा रहेका चार जनामध्ये एक जनाले आफूलाई इनिसाको प्रेमी भएको बयान दिएको प्रहरीले जनाएको छ। उनले इनिसा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको दाबी गरेका छन्।
महिला अधिकारकर्मीको चिन्ता
महिला पुनर्स्थापना केन्द्र (ओरेक) की कार्यकारी निर्देशक सुनिता मैनालीले इनिसा प्रकरण केवल व्यक्तिगत अपराध मात्र नभई दलित महिला तथा बालिकामाथि हुने संरचनागत जातीय विभेद र पितृसत्तात्मक हिंसाको उदाहरण भएको बताएकी छन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर २,५०७ यौन हिंसा सम्बन्धी घटना दर्ता भएका छन् भने पाँच वटा बलात्कारपछि हत्या भएका घटना सार्वजनिक भएका छन्।
दलित महिला संघ (फेडो नेपाल) को अध्ययनअनुसार कुल लैङ्गिक हिंसाका पीडितमध्ये ११.५४ प्रतिशत दलित महिला र १९.४४ प्रतिशत दलित बालिका रहेका छन्। अध्ययनले बलात्कारका घटनामा दलित बालिकामाथि अत्यधिक जोखिम रहेको देखाएको छ।


