न्युजिल्याण्ड सरकारले प्रशान्त क्षेत्रका देशका नागरिकका लागि भ्रमण भिसा शुल्क अस्थायी रूपमा घटाउने घोषणा गरेको छ। आगामी २०२६ जुन १ देखि १२ महिनासम्म लागू हुने यस निर्णयअनुसार भिसा शुल्क २१६ न्युजिल्याण्ड डलरबाट घटाएर १६१ डलर कायम गरिनेछ। यसमा ४१ डलरको आप्रवासन शुल्क समेत समावेश रहेको छ।
शुल्क घटाइने सुविधा अमेरिकन सामोआ, माइक्रोनेसियाको संघीय राज्य, फिजी, किरिबाटी, नाउरु, पलाउ, पापुवा न्यू गिनी, मार्शल टापु गणराज्य, सामोआ, सोलोमन टापु, टोंगा, तुभालु र भानुआतुका नागरिकका लागि लागू हुनेछ।
यो शुल्क कटौती न्युजिल्याण्ड बाहिरबाट आवेदन दिने व्यक्तिहरूका लागि मात्र लागू हुनेछ। प्रशान्त देशका आगन्तुकहरूले अन्य देशका आगन्तुकको तुलनामा पहिले नै कम शुल्क तिर्दै आएका छन् र उनीहरूलाई अन्तर्राष्ट्रिय आगन्तुक तथा संरक्षण शुल्क तिर्नु पर्दैन। अन्य देशका आगन्तुकका लागि भने कुल भ्रमण भिसा शुल्क ४४१ न्युजिल्याण्ड डलर लाग्ने व्यवस्था छ।
सरकारले यो पहललाई प्रशान्त क्षेत्रका छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध सुदृढ गर्ने कदमका रूपमा व्याख्या गरेको छ। यसले यात्रा थप सहज बनाउने अपेक्षा गरिएको छ भने भिसा प्रणाली आर्थिक रूपमा दिगो बनाइराख्ने उद्देश्य पनि राखिएको छ।
यो १२ महिनाको परीक्षण अवधि मा यात्रा प्रवृत्ति, माग, लागत र आप्रवासन प्रणालीमा पर्ने प्रभावको अध्ययन गरिनेछ। यसबाट प्राप्त अनुभवका आधारमा भविष्यमा दीर्घकालीन निर्णय लिन सहयोग पुग्ने सरकारको विश्वास छ।
यसअघि पनि सरकारले प्रशान्त क्षेत्रका नागरिकका लागि भिसाको अवधि बढाउने, साथै अष्ट्रेलियाबाट आउने प्रशान्त देशका यात्रुका लागि भिसा–मुक्त प्रवेशको परीक्षण कार्यक्रम जस्ता सुधारहरू लागू गरिसकेको छ।


