न्युजिल्याण्ड सरकारले तय गरेका ९ प्रमुख राष्ट्रिय लक्ष्यमध्ये चार वटा लक्ष्य पूरा नहुने जोखिममा रहेको पछिल्लो प्रगति प्रतिवेदनले देखाएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सन ले सन् २०२४ अप्रिलमा घोषणा गरेका यी लक्ष्यहरू सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ। तर रोजगार र शिक्षासम्बन्धी लक्ष्यहरू अझै चुनौतीपूर्ण अवस्थामा रहेको बताइएको छ।
रोजगारतर्फ जबसिकर भत्ता लिनेको संख्या बढेर २ लाख २३ हजार ५०० पुगेको छ, जुन लक्ष्यभन्दा निकै टाढा रहेको मानिएको छ। सरकारले सन् २०३० सम्ममा यो संख्या १ लाख ४० हजारभन्दा कममा झार्ने लक्ष्य राखेको छ। उता शिक्षातर्फ विद्यार्थीको विद्यालय उपस्थिति दर, पढाइ-लेखाइ तथा गणितमा अपेक्षित उपलब्धि हासिल गर्ने लक्ष्य पनि जोखिममा रहेको बताइएको छ।
स्वास्थ्य क्षेत्रमा भने लक्ष्यहरू अझै सम्भव भए पनि चुनौतीपूर्ण अवस्थामा छन्। आकस्मिक कक्षमा आएका ९५ प्रतिशत बिरामीलाई ६ घण्टाभित्र सेवा दिने लक्ष्य अझै धेरै टाढा रहेको छ। हाल ६८.९ प्रतिशत बिरामी मात्र उक्त समयभित्र सेवा पाएका छन्। सरकारले आपतकालीन कक्षमा कर्मचारी बढाउन २० मिलियन डलर र थप स्वास्थ्य सेवा सुधारका लागि चार वर्षमा १६४ मिलियन डलर लगानी गर्ने जनाएको छ।
अर्कोतर्फ केही क्षेत्रमा भने सरकारले अपेक्षाभन्दा राम्रो प्रगति गरेको जनाएको छ। आपतकालीन आवासमा बस्ने घरपरिवारको संख्या घटाउने लक्ष्य समयभन्दा अगावै पूरा भएको छ। सुरुमा ३१४१ घरपरिवार रहेकोमा अहिले यो संख्या घटेर ४४४ मात्र पुगेको छ। अपराध दर घटाउने तथा गम्भीर किशोर अपराधीको संख्या घटाउने लक्ष्य पनि निर्धारित समयभन्दा अघि हासिल भएको बताइएको छ।
जलवायु परिवर्तन नियन्त्रणअन्तर्गत हरितगृह ग्यास उत्सर्जन घटाउने लक्ष्य पनि अहिले “सही मार्गमा” रहेको प्रतिवेदनमा उल्लेख छ। सरकारले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन विस्तार तथा अन्य वातावरणीय योजनामार्फत लक्ष्य पूरा गर्ने योजना बनाएको जनाएको छ। तर समग्रमा रोजगार, शिक्षा र स्वास्थ्यका केही प्रमुख सूचकहरू अझै चुनौतीपूर्ण अवस्थामा रहेकाले आगामी वर्षहरूमा थप प्रयास आवश्यक हुने देखिएको छ।