न्युजिल्याण्डमा इन्धन संकटका लागि चार तहको आपतकालीन योजना – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा इन्धन संकटका लागि चार तहको आपतकालीन योजना

   March 14, 2026  

न्युजिल्याण्ड सरकारले इन्धन आपूर्तिमा अवरोध आएमा त्यसको सामना गर्न “राष्ट्रिय इन्धन योजना” अन्तर्गत चार तहको आपतकालीन प्रणाली लागू गर्ने तयारी गरेको छ। अमेरिकासँगै इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव बढेको र विश्वका धेरै तेल ढुवानी हुने हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएको अवस्थाले विश्वभर इन्धन आपूर्तिको चिन्ता बढेको छ। यही पृष्ठभूमिमा न्युजिल्याण्ड सरकारले पनि सम्भावित संकटका लागि तयारी बढाएको हो।

व्यापार, नवप्रवर्तन तथा रोजगार मन्त्रालयले हाल न्युजिल्याण्ड इन्धन आपतकालीन प्रणालीको पहिलो तह (लेभल–१) मा रहेको पुष्टि गरेको छ। यस तहमा इन्धन क्षेत्रमा सामान्य असर देखिए पनि स्थिति अझ गम्भीर हुन सक्ने भएकाले निगरानी बढाइएको छ। सरकारी अधिकारीहरू र इन्धन कम्पनीबीच निरन्तर समन्वय भइरहेको छ भने देशमा हाल करिब ५० दिनभन्दा बढीको इन्धन मौज्दात रहेको जनाइएको छ। सरकारले तत्काल आत्तिनु पर्ने अवस्था नरहेको पनि स्पष्ट पारेको छ।

यदि अवस्था लेभल–२ मा पुगेमा इन्धन क्षेत्रमा मध्यम असर देखिनेछ र आपतकालीन सेवा, स्वास्थ्य, सुरक्षाजस्ता अत्यावश्यक क्षेत्रलाई प्राथमिकता दिइनेछ। त्यस अवस्थामा केही पेट्रोल पम्पहरू यस्ता संस्थाका लागि छुट्याइने, छुट्टै लाइन बनाइने वा विशेष ट्याङ्कर प्रयोग गरिने व्यवस्था लागू हुन सक्छ। प्रहरीको उपस्थितिसमेत बढाइने सम्भावना रहेको छ।

स्थिति अझ बिग्रेर लेभल–३ मा पुगेमा भने सरकारले कानुनी अधिकार प्रयोग गर्दै इन्धनको माग नियन्त्रण गर्ने बाध्यकारी कदम चाल्न सक्छ। पेट्रोल पम्प खोल्ने समय सीमित गर्ने, एकपटकमा कति इन्धन किन्न पाइने भन्ने सीमा तोक्ने, कन्टेनरमा इन्धन बिक्री रोक्ने जस्ता व्यवस्था लागू हुन सक्छन्। आवश्यक परे सवारी साधन प्रयोगमा पनि नियन्त्रण लगाउने कानुनी प्रावधान रहेको छ।

सबैभन्दा गम्भीर अवस्था लेभल–४ मा पुगेमा भने इन्धन आपूर्ति लगभग अत्यावश्यक सेवामा मात्र सीमित गरिनेछ। यस्तो अवस्थामा इन्धन कम्पनीहरूले आपतकालीन सेवा, स्वास्थ्य, सुरक्षाजस्ता अत्यावश्यक संस्थालाई मात्र इन्धन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने हुन्छ। सरकारले आवश्यक परे सडक ट्याङ्करको क्षमता बढाउने वा ढुवानीका लागि विशेष अनुमति दिने जस्ता कदम पनि चाल्न सक्छ।

सरकारले अवस्था त्यहाँसम्म पुग्न नदिन नागरिकलाई पनि आवश्यक परे इन्धन बचत गर्न आग्रह गर्न सक्ने जनाएको छ। खुला सडकमा गाडीको गति घटाउने, सहयात्रा गर्ने, घरबाटै काम गर्ने, टायरको हावा जाँच्ने तथा अनावश्यक यात्रा नगर्ने जस्ता उपाय अपनाए इन्धन खपत घटाउन मद्दत पुग्ने बताइएको छ।