क्राइस्टचर्च मस्जिद हमलाको ७ वर्ष: एउटै मानिसले कसरी लिए ५१ जनाको ज्यान ?

194 Shares

आज भन्दा ७ अगाडि १५ मार्च २०१९ मा न्युजिल्याण्डको क्राइस्टचर्चमा दुईवटा मस्जिदमा लगातार गोलीकाण्ड भयो। यो आक्रमण शुक्रबारको नमाज पढिरहेको समयमा भएको थियो। पहिलो हमला दिउँसो १:४० बजे Al Noor Mosque मा भयो। त्यसको केही मिनेटपछि १:५२ बजे Linwood Islamic Centre मा दोस्रो हमला भयो।

यस आक्रमणमा कुल ५१ जनाको ज्यान गयो र ८९ जना घाइते भए, जसमा ४० जना गोली लागेर घाइते भएका थिए। मृतकमध्ये ४३ पुरुष, ४ महिला र ४ बालक थिए। उनीहरूको उमेर ३ वर्षदेखि ७७ वर्षसम्म थियो।

आक्रमणकारी २८ वर्षीय अष्ट्रेलियाली नागरिक Brenton Tarrant थिए। उनले पहिलो हमलाको भिडियो सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेका थिए र आक्रमणअघि अनलाइन घोषणापत्र पनि प्रकाशित गरेका थिए।

प्रहरीले उनलाई तेस्रो मस्जिदतर्फ जाँदै गर्दा गाडीलाई ठक्कर दिएर नियन्त्रणमा लिएको थियो। पछि उनले ५१ हत्या, ४० हत्या प्रयास र आतङ्ककारी गतिविधिमा संलग्न भएको आरोप स्वीकार गरे।

अगस्ट २०२० मा अदालतले उनलाई प्यारोलको सम्भावना बिना आजीवन कारावास सजाय सुनायो, जुन न्युजिल्याण्डको इतिहासमा यस्तो सजाय पाउने पहिलो घटना थियो।

यो हमला श्वेत राष्ट्रवाद, आप्रवासी विरोधी भावना र श्वेत सर्वोच्चतावादी विचारधाराबाट प्रेरित भएको बताइएको थियो। त्यसबेला न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेनले यसलाई “न्युजिल्याण्डको इतिहासकै सबैभन्दा अन्धकारमय दिनमध्ये एक” भनेर वर्णन गरेकी थिइन्।

घटनापछि विश्वभरबाट तीव्र निन्दा भयो। न्युजिल्याण्ड सरकारले बन्दुक सम्बन्धी कानुन कडा बनायो र घटनाको छानबिनका लागि विशेष आयोग गठन गरियो। साथै, यस घटनापछि संयुक्त राष्ट्रसंघले १५ मार्चलाई इस्लामोफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको छ।

सम्बन्धित समाचार

सबै