न्युजिल्याण्डका ऊर्जा मन्त्री साइमन वाट्स इन्डो–प्यासिफिक ऊर्जा सुरक्षा मन्त्रीस्तरीय बैठक तथा व्यापार मञ्चमा सहभागी हुन जापान प्रस्थान गरेका छन्। उक्त सम्मेलनमा विभिन्न देशका मन्त्री, नीति निर्माता र व्यवसायिक क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
मन्त्री वाट्सले मध्यपूर्वमा भइरहेको पछिल्लो घटनाक्रम र बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण विश्वभर ऊर्जा सुरक्षाको महत्व अझ बढेको बताएका छन्। उनका अनुसार ऊर्जा आपूर्तिको स्थायित्व न्युजिल्याण्ड र इन्डो–प्यासिफिक क्षेत्रका साझेदार राष्ट्रहरूको आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
उनले न्युजिल्याण्ड विश्वव्यापी ऊर्जा आपूर्ति श्रृंखलालाई सुरक्षित राख्ने प्रतिबद्धतामा दृढ रहेको उल्लेख गर्दै विशेषगरी तरल इन्धनको आपूर्ति सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। मध्यपूर्वको द्वन्द्वले अन्तर्राष्ट्रिय तेल बजारमा असर पारिरहे पनि न्युजिल्याण्ड सम्भावित इन्धन आपूर्ति अवरोधका लागि तयार रहेको उनले स्पष्ट पारे।
मन्त्री वाट्सका अनुसार न्युजिल्याण्डको इन्धन प्रणाली मजबुत रहेको, भण्डारण पर्याप्त रहेको र आपतकालीन योजना तयार अवस्थामा रहेको छ। सरकार इन्धन सुरक्षाको अवस्थाबारे निरन्तर निगरानी गर्दै इन्धन कम्पनीहरूसँग नजिकबाट समन्वयमा रहेको पनि उनले बताए।
उक्त सम्मेलन १४ र १५ मार्च २०२६ मा आयोजना हुँदैछ। मन्त्री वाट्स १६ मार्च सोमबार न्युजिल्याण्ड फर्किने कार्यक्रम रहेको छ।


