टोंगा पुगे न्युजिल्याण्डका प्रधानमन्त्री – New Zealand News Nepal (NZ News Nepal)

टोंगा पुगे न्युजिल्याण्डका प्रधानमन्त्री

   March 18, 2026  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन टोंगाको राजधानी नुकुआलोफा पुगेका छन्। त्यहाँ उनले टोंगाका प्रधानमन्त्री लर्ड फताफेही फकाफानुआसँग पहिलो औपचारिक द्विपक्षीय भेटवार्ता गर्दै अन्तरदेशीय अपराध नियन्त्रण, इन्धन आपूर्ति सुरक्षा तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल गरेका छन्।

लक्सन आफ्नो प्रशान्त क्षेत्रीय भ्रमणको दोस्रो चरणका लागि टोंगा पुगेका हुन्। विमानबाट ओर्लिएलगत्तै उनले टोंगाका प्रधानमन्त्रीसँग द्विपक्षीय बैठक गरेका थिए।

भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले आर्थिक विकास, राम्रो सार्वजनिक सेवा र कानुन–व्यवस्था मजबुत बनाउने विषयमा आफूहरू एकै धारमा रहेको बताएका छन्।

प्रधानमन्त्री लक्सनको प्रशान्त भ्रमणमा अन्तरदेशीय अपराध (ट्रान्सनेशनल क्राइम) नियन्त्रण प्रमुख एजेन्डा बनेको छ। यस भ्रमणमा न्युजिल्याण्ड प्रहरीका आयुक्त र भन्सार विभागका प्रमुख कार्यकारी अधिकृत पनि उनीसँगै सहभागी छन्।

लक्सनले यसअघि Samoaमा दिएको अभिव्यक्तिजस्तै टोंगामा पनि प्रशान्त क्षेत्रका सबै देशहरूले अन्तरदेशीय अपराधको चुनौती सामना गरिरहेको बताएका छन्। उनले यस समस्याको समाधानका लागि प्रशान्त देशहरूबीच सूचनाको आदान–प्रदान र संयुक्त समन्वय आवश्यक रहेको बताए।

“हामी तपाईंका संस्था र एजेन्सीहरूसँग मात्र होइन, हाम्रो आफ्नै निकाय, साथै अष्ट्रेलिया, सामोआ, फिजीसँग सँग पनि क्षेत्रीय स्तरमा समन्वय गर्दै काम गरिरहेका छौँ,” उनले भने।

उनका अनुसार अन्तरदेशीय अपराध प्रशान्त क्षेत्रको साझा समस्या भएकाले यसको समाधान पनि प्रशान्त क्षेत्रकै सहकार्यबाट निकालिनु आवश्यक छ।