‘यहाँ शहीदकी आमा छिन्, ध्यान दिनुहोला’

178 Shares

सांसदहरूको दुई दिने प्रशिक्षणमा लामिछानेले दिएको निर्देशनसहितको सम्बोधन

हामीले जमिन छोडेका थिएनौं, विश्वास त थियो । तर, त्यो विश्वासलाई नेपाली जनताले यति धेरै जिम्मेवारीका साथ पठाउनुहुनेछ भन्ने कुरामा चाहिँ अलिकति कहिँकतै केही न केही सोचिएको थियो । तर, थाहा चाहिँ के थियो भने यो देश परिवर्तन चाहन्छ । मुलुकले परिवर्तन खोजेको छ । र, मुलुकले र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन, मात्र सही समूह र सही नेतृत्व चाहिन्छ। सायद इतिहासको त्यो एउटा विन्दुमा तपाईं हामी आइपुगेका छौं । आज म धेरै केही भन्नुभन्दा पनि तपाईंहरूलाई एउटा जिम्मेवारी महसुस गराउनको निमित्त यहाँ खडा भएको छु । गर्वका साथ खडा भएको छु । गर्वका साथ हामी भन्न सक्दछौं कि हो, नेपाली जनताले हामीमाथि इतिहासमा कसैलाई नगरेको विश्वास गरेका छन् । यस मानेमा रास्वपा परिवारको अभिभावक हुनुमा मलाई गर्व छ । यो एउटा ‘क्लोज क्याम्प’ जस्तो भित्र नै हाम्रा सांसदहरू बीच गरिने कार्यक्रम भएता पनि हाम्रा कुराहरू संसारभरि पुर्याउने कुरामा हाम्रो के नै छ र ? पारदर्शिता र खुला राजनीति हाम्रो मूल मन्त्र हो । म तपाईंहरूलाई केही तीता-मीठा कुरा बताउन गइरहेको छु। सधैँ मीठा कुरा गरेर पनि सकिंदैन, सधैँ तीता कुरा गरेर पनि हुँदैन । तर, आज तीता र मीठा कुरा गरौं । पहिलो कुरा त, प्रशस्त पानी पिउनुहोला र कतै जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नुहोला । म चाहिँ चुनावी दौडमा ट्वाइलेट जानुपर्ला भनेर पानी रोक्ने गर्थें, त्यसले मलाई अलिकति समस्या पनि भयो। स्वस्थ रहनुहोला किनकि तपाईंहरूले अब धेरै काम गर्नुपर्नेछ । संविधान निर्माण भएको यति लामो समय हुँदासम्म विभिन्न बाधा-अड्चनहरू भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग दुई-तिहाइको बहुमत दिएका छन्। अब केको बाधा? अब के ले अड्काउँछ हामीलाई ? अब अड्काउने भनेको तपाईं-हाम्रो नियतले मात्रै हो। धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन, जति समय राजनीतिमा रहेँ सधैँभरी विभिन्न किसिमका प्रहारहरूको सामना गर्नुपर्यो। पार्टीको नाममा मुद्दा चल्यो, त्यो पार्टीलाई जन्मदेखि नै कुल्चने कोसिस भयो। बचाउँदै लिएर आउन सक्यौं। पार्टीको चुनाव चिह्नमा मुद्दा चल्यो। स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट प्रहारहरू भए। हामीले जोगाएर ल्यायौं। हामीले घन्टी बजायौं, किनकि नेपाली जनताका लागि घन्टी बजाउनुपर्थ्यो । सजिलो थिएन। यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिंदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौं, हामी हल्लिएनौं। किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। ‘एकपटक चुनाव त आओस् न, अनि हामी देखाइदिन्छौं’ भनेर हामीले ८४ को रेखा कोरेका थियौं। नागरिकले सबै हेरेका हुन्छन्। हरेक गतिविधि हेरिरहेका हुन्छन्। ‘यी नयाँलाई एकपटक हेरौं, ताकि यिनीहरू नमात्तिउन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि सिध्याउन नपारौं’ भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई दुई-तिहाइ पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले ३४-३५ वर्ष कुर्‍यो, तपाईं-हामीलाई ३६ महिना, ३६ दिन पनि कुर्नेवाला छैनन् । यो कुरा निर्धक्क हुनुहोला । अब कानुन निर्माताको रूपमा, अब तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन। गुट बनाएर कसैलाई जितिंदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीमुनि सबै अटाउन सक्छन्। घन्टीसँग त्यति धेरै तागत छ । आफ्नो पोजिसन के हुन्छ ? म कहाँ हुन्छु ? मलाई के हुन्छ ? पार्टीमा मेरो हैसियत के हुन्छ ? संसदमा मेरो हैसियत के हुन्छ ? सरकारमा मेरो हैसियत के हुन्छ? यो ‘म’ केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र ‘देश’ केन्द्रित राजनीति गर्न सकिएन भने हामी पुराना राजनीतिक दलका नेताहरूभन्दा पनि बढ्तर सावित हुन्छौं । यो कुरा म तपाईंलाई ‘डे वान’ मा बताउन गइरहेको छु। आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो। सहमति त गर्ने, राष्ट्रिय सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आ-आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आ-आफ्नो ठाउँ सुरक्षित राखे । तर, देशलाई सुरक्षित राखियो कि राखिएन, त्यो महत्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ। देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईंको र मेरो मन्त्री-प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले र समाजले बोक्दैन। सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जालहरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु। यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो। अति संवेदनशील समयमा, धेरै मेहेनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले मेहेनतका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु । मेरो सपनाको भारी बोक्न यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईं-हामीले बोक्नैपर्छ। यो सामान्य कुरा होइन। यहाँ सहिदकी आमा छिन्, ध्यान दिनुहोला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा अगाडि, एक कप चिया खानु अगाडि सहिदकी आमालाई सम्झिनुहोला। आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् सहिदकी आमा। यो सामान्य कुरा होइन। यो देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखें, त्यो अनुभव तपाईंलाई सुनाउँदैछु। तपाईंहरूलाई विचलित बनाउन, तपाईंलाई प्रभावित बनाउन मान्छेहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौं। त्यो जनमतसँगै अब यिनीहरूबीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ-ठाउँबाट प्रयास भएको तपाईंहरू हेर्नुहुन्छ होला। समाचार भित्रका नियतहरू पनि हेर्न सकिन्छ। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई जुटाउने खेलहरू बिगबिगी छन्। हामीविरुद्ध पनि त धेरै मत आएको छ नि, लाखौं भोट छ जसले हामीलाई भोट दिएन। अरू विभिन्न नेताहरू छन्, प्रतिपक्षको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। तर आफू बलियो हुनुपर्छ। अरूलाई दोष लगाएर- अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल- यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। यो कसैको चाल होइन, हामी मिल्न सकेनौं भने, हामी स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या पर्ने हो। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईंहरूले कतै पनि हजिटेसन राख्नै पर्दैन। ‘मलाई पुरानो पार्टी भन्छन् कि?’ अथवा पुराना पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नुपर्छ कि? केही पनि भन्नुपर्दैन। हृदय ठूलो पारेर हामीले तपाईंहरूलाई स्वागत गरेका छौं। खाली यति हो कि, पुरानो प्रवृत्तिबाट तपाईं टकटकिंदै आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्थामा गरिब नचलोस् भनेर कलिला भाइबहिनीहरूले रगत बगाएका छन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो ५ वर्ष नियमित रूपमा आएको चुनाव होइन। यो त सहिदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौं, तपाईं हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनुहुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, वाहवाही हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरू पनि यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीं आफ्ना पक्षमा राम्रा कुरा लेखिदिंदा दंग परिन्छ, तर त्योभन्दा अलिकति माथि उठ्नुपर्छ। तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ? यो कुरा याद नगरीकन तपाईंले यस्ता किसिमका हल्काफुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईं हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो। त्यसकारण आफ्नो भूमिका परिवर्तन भएको छ। होइन, जो कसैलाई अझै पनि ‘म अभियन्ता नै हुँ’ जस्तो लाग्छ, हिजोको जस्तै जिम्मेवार नभएर अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने ‘You are more than welcome to leave this hall’। तपाईंहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन। तर होइन, अब म जिम्मेवार हुँ, मेरो भूमिका फेरिएको छ। यो देशका कानुनहरू मैले फेर्नुपर्ने छ, संशोधन ल्याउनुपर्ने छ, नयाँ कानुनहरू ल्याउनुपर्ने छ। मलाई मत दिएका जनताको घरघरमा खुसियाली आउनुपर्ने छ र मलाई मत दिएका जनताको चुल्हो बलेकोमा प्रभाव पर्नुपर्ने छ। उनीहरूले महसुस गर्नुपर्ने छ- अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको सोर्स-फोर्सबिना भन्ने कुराको महसुस तपाईंले गराउनुपर्छ। म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नुभएन, इमर्जेन्सीको बेलामा मैले भनेको छैन। सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्, सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीलाई जुन अप्ठ्यारो पर्छ, तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन। र अर्को महत्वपूर्ण कुरा म यहाँ बताउँछु। रास्वपा स्थापना भएको साढे तीन-चार वर्ष पनि भएको छैन। यसबीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौं। रास्वपाभित्र देशको अनुहार छ। अहिले जोडिएका साथीहरू यो देशको अनुहार हो। यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरू हौं। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि होला, कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला। जे जस्तो भएतापनि एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनुपर्छ भने- सरकार दुई-तिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको ‘Right to Recall’ को व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ। यसबीचको पातलो एउटा रेखा छ साथी हो। त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईंहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिको रूपमा मेरो कुनै पनि आपत्ति छैन, तपाईं स्वतन्त्रताको सदुपयोग गर्नुहोस्। तर अनुशासित भएर। अनुशासनका लागि पार्टीले अनुशासनका विषयमा तपाईंहरूलाई कडाइका साथ पालना गराउनेछ। किनकि परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौं भने त्यसले निम्त्याउने अराजकतालाई हामी कदापि स्वीकार्न सक्दैनौं। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्तै अनुशासित हुनुपर्नेछ। हाम्रो आजको जित हिजोको भन्दा अलि फरक छ। नेपाली जनताले भोट खन्याएर दिएका छन्। तपाईंलाई कोहीले पनि छुन्न भनेर सम्बोधन गरेका छन्। तपाईं भोट माग्न जाँदाखेरी आमाबाहरूले रुँदै के भनेका छन् थाहा छ? ‘बाबु यो देश बचाऊ’ भनेका छन्। यो कति सामान्य कुरा जस्तो लाग्छ, तर कति गहिरो कुरा छ, कति ठूलो कुरा छ। हामीजस्ता सामान्य मान्छेको हातमा, घर-घरमा घन्टी बोकेर हिंडेका हाम्रा हातमा, हाम्रा काँधमा आम नागरिक देखि बालबालिकाहरूले ‘यो देश बचाऊ’ भनिरहेका छन्। यो कति ठूलो शक्ति हो। जति ठूलो शक्ति, त्यति ठूलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस तपाईंहरूले गर्नुहोला। म जो जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ, म सबैलाई स्वागत गर्न चाहन्छु। रास्वपाभित्र सिंगो देशको अनुहार छ। यहाँ व्यापार-व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेन-जी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि, कलाकार, मोडल, रोल-मोडल सबैजना हुनुहुन्छ। हामी सांसद भयौं भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन। अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र आफू शक्तिशाली भएँ भनेर आफ्नो चालचलन, आफ्नो व्यवहार नै परिवर्तन गर्ने कैयौं साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनुहोला। नागरिकसँग सधैं नजिक रहनुहोला। चुनाव त फेरि पनि आउँछ। त्यतिखेर हामीले भनेका छौं, यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौं। हामीले नागरिकसँग करार गरेका छौं। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौं भने हामी कमिटेड छौं। यसपटक परिवर्तन गरेरै छाड्ने हो, यसपटक काँचुली फेरेरै छाड्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौं। त्यो करारका अक्षर-अक्षर पढ्नुहोला। तपाईंहरूमध्ये कोही यही भएकै हलहरूमध्ये कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ। तर कृपया ‘मन्त्री बनाइदिनुस्’ भनेर वा ‘मिडिया ट्रायल’ मा ‘म फलानो मन्त्री’ भनेर लाग्नुहोला, मलाई केही पनि थाहा छैन। क्याबिनेटमा को-कोलाई पठाउँछ भन्ने कुराको बारेमा हामीले गरेका छैनौं। पार्टीले गर्नेछ, तपाईंले भन्नुपर्दैन हामीलाई थाहा छ। तपाईंहरूको विज्ञता थाहा छ। कैयौं साथीहरू देखिएको देखिएकै गर्नुहुन्छ, कैयौं साथीहरू छेकिएको छेकिएकै गरिरहेको छ। अलि बढी चर्चामा आएका र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ। कैयौं विषयका विज्ञ साथीहरू हुनुहुन्छ। म सञ्चारकर्मी साथीहरूलाई पनि आग्रह गर्छु- यहाँ रास्वपाभित्रका एक-से-एक विज्ञ साथीहरू यो हलभित्र हुनुहुन्छ। अलिकति ‘टिल्ट डाउन’, ‘टिल्ट अप’, ‘लेफ्ट-राइट’ गर्नुभयो भने एक-से-एक विज्ञ साथीहरू हुनुहुन्छ है साथी हो। त्यसकारण आम नागरिकलाई पनि देखाइदिनुहोला है- चलेका, देखिएका, सुनिएका मात्र होइनन्, त्यहाँ अरू पनि छन् भनेर। त्यहाँतिर पनि अलिकति ध्यान दिनुस् ताकि नागरिकले थाहा पाउन् कि रास्वपाभित्र कस्ता विज्ञहरू छन्। अन्त्यमा, तपाईंहरूले दुःख गर्नुभयो, तपाईंहरूले मेहेनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ, केही नयाँ साथीहरू आउनुभएको छ। चुनावका बेलामा जुन मेहेनत तपाईंले गर्नुभयो, त्यो मेहेनत अब शायद नपर्ला, तर परिणामका हिसाबले तपाईंले त्योभन्दा कम मेहेनत गरेर चाहिँ हुँदैन। अबको मेहेनत तपाईंको काँधमा झन् धेरै आइपरेको छ। यसको महसुस गर्नुहोला। फेरि पनि दोहोर्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले विरलै पाउने यो अवसर तपाईं हामीले पाएका छौं। विश्व इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौं भने- यसपटक तपाईंले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो भनेर हामी सबैले भनेका हौं। तपाईंको हातमा छ यो देशको भविष्य कस्तो लेख्ने। कसैको हातमा छैन, जनताले देखाइदिए, दिए तपाईंलाई। अब रोक्नु हाम्रा छोराछोरीलाई विदेश जानबाट, सिर्जना गरौं रोजगारी, देउ स्वास्थ्य, देउ शिक्षा। जनताले आफ्नो गर्ने काम गरे। अब तपाईंको पालो। एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई उत्सवको रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि रास्वपाको सांसदले नबोलुन् भन्ने हेतुले तपाईंहरूले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिल्यै पनि अप्ठ्यारो मान्नु पर्दैन। हामीले सांसदको लोगो लगाउने बित्तिकै, कुर्सीमा बस्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। अध्ययन जारी राख्नुहोला। अन्त्यमा, यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ- ठूला-ठूला बाटा, पुल, विकासका सूचक हुन सक्दछन्। तर मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। रास्वपाले चाहेर पनि कैयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं, हुन त तुलनात्मक रूपमा रास्वपाले अन्य धेरै दलभन्दा धेरै महिला साथीहरूलाई उठायो। तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमायाचना गर्दै भन्छु- हाम्रो पार्टीभित्र राई-लिम्बु समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधि सभामा हुन सकेन। सभापतिको हैसियतले म विश्वासका साथ भन्न चाहन्छु- आगामी दिनमा समावेशिताको यो महत्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछौं। यही हलबाट तपाईंहरू भोलि मन्त्रीका रूपमा आसिन रहनुहोला। तर तपाईंले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोहोरेर लानुभयो, कर्णालीलाई रुवाउनुभयो, मधेसलाई रुवाउनुभयो भने त्यो कदापि स्वीकार्य हुने छैन। सिंगो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारण अबको विकासको सूचक सिंगो मुलुक हुनुपर्नेछ, क्षेत्रगत कुरामा होइन। अब तपाईंहरूको दौड स्वार्थ समूहहरूको घरघरमा होइन। गुट बनाएर कसैलाई जितिंदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीमुनि सबै अटाउन सक्छन्। घन्टीसँग त्यति धेरै तागत छ । आफ्नो पोजिसन के हुन्छ ? म कहाँ हुन्छु ? मलाई के हुन्छ ? पार्टीमा मेरो हैसियत के हुन्छ ? संसदमा मेरो हैसियत के हुन्छ ? सरकारमा मेरो हैसियत के हुन्छ? यो ‘म’ केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र ‘देश’ केन्द्रित राजनीति गर्न सकिएन भने हामी पुराना राजनीतिक दलका नेताहरूभन्दा पनि बढ्तर सावित हुन्छौं । यो कुरा म तपाईंलाई ‘डे वान’ मा बताउन गइरहेको छु। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ भन्नेले अर्थ राख्दैन। कर्णालीमा अस्पताल बन्यो कि बनेन? सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्नुपर्यो कि परेन? मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन? विकासको सूचक यो हो। अर्को निर्वाचन जित्दिनँ भनेर आजै देखि लाग्नुभयो भने फेरि पनि ‘Right to Recall’ को व्यवस्थाको बारेमा सम्झना गराउनुपर्ने हुन्छ। यो एउटा निर्वाचनबाट अर्को निर्वाचनका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौं हामी। अर्को पुस्ताले हार्नु हुँदैन। हामी एउटा आशा र अपेक्षाको दियो बाल्न सफल भएका छौं, यसलाई निभ्न नदिनुहोला। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु, वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध छु । शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ। तर वर्तमान व्यवस्थाप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन र डगमगाउने वाला पनि छैन। इतिहास रच्नमा एउटा मान्छे वा एउटा पार्टीको हात हुँदैन। पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनुभएको छ। उहाँहरूका कैयौं व्यथितिहरू प्रति हाम्रो प्रश्न हो, तर उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने हक हामी कसैलाई पनि छैन। इतिहास तपाईंले लेख्नुभयो, भविष्य हामी बनाउँछौं। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन। रास्वपालाई प्रायः अराजक छन्, समर्थकहरू असहिष्णु छन् भन्ने छवि बनेको छ। अब त्यसबाट बाहिर निस्कनुपर्छ। सम्पूर्ण रास्वपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन, सामाजिक सञ्जालहरूमा जिम्मेवार भएर प्रस्तुत हुन अनुरोध गर्दछु। यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो। अति संवेदनशील समयमा, धेरै मेहेनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले मेहेनतका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु। देश राम्रो हातमा छ। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी अहोरात्र काम गर्नेछौं। जय देश, जय घन्टी !”

सम्बन्धित समाचार

सबै