इन्धन आपूर्तिको अवस्था बिग्रन सक्ने, नागरिकलाई सचेत रहन प्रधानमन्त्रीको आग्रह – New Zealand News Nepal (NZ News Nepal)

इन्धन आपूर्तिको अवस्था बिग्रन सक्ने, नागरिकलाई सचेत रहन प्रधानमन्त्रीको आग्रह

   March 19, 2026  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लकसनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्तिको अवस्था आगामी दिनमा बिग्रन सक्ने बताएका छन्। उनले नागरिकलाई परिस्थितिप्रति सचेत रहन र अनावश्यक रूपमा इन्धन सञ्चय नगर्न आग्रह गरेका छन्। बिहीबार संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समस्या समाधान हुनुअघि अवस्था झन् चुनौतीपूर्ण बन्न सक्ने बताएका हुन्।

प्रधानमन्त्री लकसनले द्वन्द्व तत्काल समाधान भए पनि यसको प्रभाव आपूर्ति शृंखलामा केही समयसम्म जारी रहने स्पष्ट पारे। “आशा मात्र योजना होइन,” उनले भने, “त्यसैले हामी दीर्घकालीन द्वन्द्वको सम्भावनालाई ध्यानमा राख्दै सबैभन्दा खराब अवस्थाका लागि तयारी गरिरहेका छौं।”

उनका अनुसार मन्त्री, सरकारी अधिकारी तथा उद्योग क्षेत्र आगामी आठदेखि बाह्र हप्तालाई केन्द्रमा राखेर तयारीमा जुटिरहेका छन्। हाल देशमा पर्याप्त इन्धन मौज्दात रहे पनि भविष्यमा समस्या आउन सक्ने भन्दै उनले नागरिकलाई सचेत रहन आग्रह गरे।