निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो – New Zealand News Nepal (NZ News Nepal)

निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो प्रतिवेदन, नयाँ सरकार गठनको बाटो खुल्यो

   March 20, 2026  

निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन बुझाएको छ। फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिवेदन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति समक्ष पेश गरेका हुन्। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद दिए। पौडेलले भने, ‘फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु।’ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण संसद विघटन भएपछि सुशीला कार्कीलाई नयाँ चुनाव गराउने जिम्मेवारीसहित प्रधानमन्त्री बनाइएको थियो। पौडेलले आन्दोलनपछि आफूले बढो जुक्ति लगाएर चुनावमा जाने वातावरण बनाएको र संविधान बचाएको भन्दै दलहरुलाई चुनावमा सहभागी हुन आह्वान गरेका थिए। आयोगले औपचारिक रुपमा प्रतिवेदन पेश गरेसँगै चुनावी चक्रले पूर्णता पाएको छ। जससँगै अब नयाँ सरकार गठनका लागि बाटो खुलेको छ। चुनावबाट रास्वपाले झण्डै दुई तिहाइ बहुमत १८२ सिट, कांग्रेसले ३७, एमालेले २५ र नेकपाले १७ सिट जितेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले सात र राप्रपाले पाँच सिट जितेका छन्। प्रतिनिधिसभाम रास्वपाको एकल बहुमत आएकाले धारा ७६ (१) अनुसार सरकार गठन हुनेछ।