न्यूजिल्याण्डमा होलि कार्यक्रममा सहभागी हुन आएका केही भारतीय कलाकारहरू भिसा अवधि सकिएपछि पनि देशमै अवैध रूपमा बसिरहेको पाइएको छ। यससँगै उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।
न्यूजिल्याण्डस्थित भारतीय वाणिज्य दूतावासका अनुसार, बेपत्ता रहेका कलाकारहरूमध्ये केही अकल्याण्ड, टाउराङ्गा तथा बे अफ प्लेन्टी क्षेत्रका सिख मन्दिर (गुरुद्वारा) वा यहाँका भारतीय समुदायका घरहरूमा बसिरहेको हुन सक्ने सूचना प्राप्त भएको छ।
दूतावासका एक प्रवक्ताले यो घटना असामान्य रहेको बताउँदै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, कूटनीतिक सेवाको लामो अनुभवमा यस्तो अवस्था पहिले कहिल्यै नदेखिएको हो। “यो निकै गम्भीर अवस्था हो, हामीले यस्ता घटना पहिले कहिल्यै सामना गरेका थिएनौं,” उनले भने।
उक्त कलाकारहरूको समूह फेब्रुअरीमा गायिका सिवानी कश्यप सँग सम्बन्धित “कम्युनिटी होलि सेलिब्रेशन” कार्यक्रममा सहभागी हुन न्यूजिल्याण्ड प्रवेश गरेको थियो। तर, उनीहरूको भिसा ६ मार्चमा सकिएपछि पनि ११ जना अझै देशमै अवैध रूपमा बसिरहेको ईमिग्रेसन न्युजिल्याण्डले जनाएको छ।
दूतावासले ती व्यक्तिहरूको पहिचान गरी सुरक्षित रूपमा भारत फर्काउने प्रयास भइरहेको जनाएको छ। साथै, स्थानीय समुदायलाई पनि आवश्यक जानकारी उपलब्ध गराई सहयोग गर्न आग्रह गरिएको छ।


