न्युजिल्याण्ड र सिंगापुरका प्रधानमन्त्रीबीच फोन वार्ता, इन्धन आपूर्ति सहज बनाउन सहकार्य – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्ड र सिंगापुरका प्रधानमन्त्रीबीच फोन वार्ता, इन्धन आपूर्ति सहज बनाउन सहकार्य

   March 24, 2026  

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्ति प्रभावित भइरहेका बेला देशको आवश्यक आपूर्ति सुनिश्चित गर्न सरकार सक्रिय रूपमा काम गरिरहेको बताएका छन्।

सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङ्गसँग भएको टेलिफोन वार्तापछि उनले न्युजिल्याण्डको इन्धन आपूर्ति व्यवस्थापनमा सहकार्यलाई अझ सुदृढ बनाउने सहमति भएको जानकारी दिएका छन्।

प्रधानमन्त्री लक्सनका अनुसार न्युजिल्याण्डमा प्रयोग हुने करिब एकतिहाइ इन्धन सिंगापुरमा प्रशोधन हुने भएकाले दुई देशबीचको सहकार्य अत्यन्त महत्वपूर्ण छ। उनले आवश्यक वस्तुहरू, विशेषगरी इन्धन, निरन्तर रूपमा आवतजावत भइरहनु पर्ने विषयमा दुवै देश सहमत भएको बताए।

आगामी मे महिनामा सिंगापुर भ्रमणका क्रममा अत्यावश्यक वस्तु व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको पनि उनले बताए। उक्त सम्झौताले इन्धन, खाद्यान्न लगायतका वस्तुको आपूर्ति श्रृंखला सुचारु राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुवै प्रधानमन्त्रीबीच हालको चुनौतीपूर्ण आपूर्ति अवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा थप सहकार्यका सम्भावनाबारे पनि छलफल भएको जनाइएको छ।