३३ वर्षीय ब्रुक भ्यानले गरिन् न्युजिल्याण्डको राजनीति छोड्ने घोषणा – New Zealand News Nepal (NZ News Nepal)

३३ वर्षीय ब्रुक भ्यानले गरिन् न्युजिल्याण्डको राजनीति छोड्ने घोषणा

   March 24, 2026  

एक्ट पार्टीकी उपनेता ब्रुक भ्यान भेल्डेनले यस वर्ष हुने आमनिर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्दै संसदबाट बाहिरिने र निजी क्षेत्रमा अवसर खोज्ने योजना सार्वजनिक गरेकी छन्। तामाकी क्षेत्रकी सांसद रहेकी उनी हाल आन्तरिक मामिला तथा कार्यस्थल सम्बन्ध मन्त्रीका रूपमा कार्यरत छिन्।

मंगलबार बिहान आकस्मिक पत्रकार सम्मेलनमार्फत उनले आफू दीर्घकालीन राजनीतिज्ञ बन्ने चाहना नभएको स्पष्ट पारिन्।
“म सधैंभरि राजनीतिमा रहने सोचमा थिइनँ। अझै धेरै वर्ष जनताको सेवा गर्न सक्थें, तर अब निजी क्षेत्रमा पनि अनुभव लिन चाहन्छु। भविष्यमा पुनः सार्वजनिक सेवामा फर्किने इच्छा छ,” उनले भनिन्।

आगामी नोभेम्बरसम्म उनले पार्टीको उपनेता र सांसदका रूपमा ६ वर्ष पूरा गर्नेछिन्, जसमा पछिल्ला ३ वर्ष मन्त्रीका रूपमा बिताएक छन्। राजनीतिमा प्रवेश गर्नु अघि उनले डेभिड सीमोरसँग मिलेर जीवनको अन्त्यसम्बन्धी छनोट सम्बन्धी कानुन पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

भ्यान भेल्डेनले आफ्नो कार्यकालको बाँकी अवधि भने सांसद र मन्त्रीका रूपमा पूरा गर्ने बताएकी छन्।
“सरकारमा रहेर देशको सेवा गर्न पाउनु र तामाकीका जनताको प्रतिनिधित्व गर्नु मेरा लागि ठूलो गौरवको विषय हो, तर अब परिवर्तन आवश्यक छ भन्ने महसुस भएको छ,” उनले भनिन्।

पार्टीका नेता सीमोरले उनको निर्णयलाई “मिठो र पीडादायी” दुवै भएको प्रतिक्रिया दिएका छन्।
“ब्रुकको राजनीतिक यात्रा अत्यन्त सफल रह्यो। ३४ वर्षको उमेरमै उनले संसद क्षेत्रमा ९ वर्ष बिताउँदै निरन्तर उपलब्धि हासिल गरिन्,” उनले भने।

उनका अनुसार भ्यान भेल्डेनले पार्टीलाई एक सांसद र अत्यन्त कम जनसमर्थनको अवस्थाबाट उठाएर सरकारको केन्द्रमा प्रभावशाली शक्ति बनाउन महत्वपूर्ण योगदान दिएकी छन्।

पार्टीले आगामी अप्रिल अन्त्यतिर तामाकी क्षेत्रका लागि नयाँ उम्मेदवार चयन गर्ने जनाएको छ भने नयाँ उपनेता जुन २१ अघि नियुक्त गरिनेछ। भ्यान भेल्डेनले भने आगामी निर्वाचन अभियानमा सक्रिय रहँदै नयाँ उम्मेदवार र पार्टीलाई सहयोग गर्ने बताएकी छन्।