सन्तान हुने सबैले पाउने छैनन् सरकारले घोषणा गरेको ५० डलर (पूर्ण जानकारी सहित) – New Zealand News Nepal (NZ News Nepal)

सन्तान हुने सबैले पाउने छैनन् सरकारले घोषणा गरेको ५० डलर (पूर्ण जानकारी सहित)

   March 24, 2026  

न्युजिल्याण्ड सरकारले बढ्दो इन्धन मूल्यको प्रभाव कम गर्न लक्षित सहयोग प्याकेज घोषणा गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य आकासिएको र घरपरिवारको खर्चमा दबाब बढेको भन्दै सरकारले यस्तो राहत योजना ल्याएको जनाएको छ। सरकारका अनुसार, आगामी अप्रिल ७ देखि करिब १ लाख ४३ हजार काम गर्ने सन्तान भएका परिवारहरूले हप्तामा थप ५० डलर पाउनेछन्। यो रकम “इन–वर्क ट्याक्स क्रेडिट” मार्फत उपलब्ध गराइनेछ।

इन–वर्क ट्याक्स क्रेडिट के हो?

इन–वर्क ट्याक्स क्रेडिट कमदेखि मध्यम आय भएका, आश्रित बालबालिका भएका परिवारका लागि दिइने भुक्तानी हो। यसका लागि कम्तीमा एक अभिभावक रोजगारीमा हुनुपर्नेछ। साथै, कुनै पनि अभिभावकले वर्क एन्ड इन्कमबाट मुख्य भत्ता लिइरहेको हुनु हुँदैन। हाल यो सुविधा अन्तर्गत हप्तामा ९७ दशमलव ५० डलर प्रदान गरिँदै आएको छ। चार वा सोभन्दा बढी बालबालिका भएका परिवारले तेस्रो बालबालिकापछि प्रत्येकका लागि थप १५ डलर पाउने व्यवस्था छ।

को–को योग्य छन्?

इन–वर्क ट्याक्स क्रेडिट पाउने सबै परिवार यो नयाँ वृद्धिका लागि पनि योग्य हुनेछन्। आयको आधारमा यसको सीमा तोकिएको छ—

  • एक बच्चा भएका परिवारका लागि वार्षिक संयुक्त आय ८९ हजार डलरसम्म
  • दुई बच्चा भएका परिवारका लागि १ लाख १२ हजार डलरसम्म
  • तीन बच्चा भएका परिवारका लागि १ लाख ३५ हजार डलरसम्म

यो आय दुवै अभिभावकको संयुक्त आम्दानी वा एक अभिभावकको आम्दानीका आधारमा निर्धारण गरिन्छ।

कति बढ्यो भुक्तानी?

सरकारले आधारभूत दरमा हप्ताको ५० डलर थप गरेको छ। यससँगै नयाँ दर १४७ दशमलव ५० डलर प्रति हप्ता पुगेको छ।

कहिले र कसरी पाइन्छ?

यो वृद्धि अप्रिल १ देखि लागू हुनेछ। योग्य परिवारहरूले कुनै आवेदन दिनु पर्दैन। रकम स्वतः बैंक खातामा पठाइनेछ—

  • हप्तामा भुक्तानी पाउनेले अप्रिल ७ देखि
  • पन्ध्र दिनमा भुक्तानी पाउनेले अप्रिल १४ देखि

यदि आफू योग्य हुँदाहुँदै पनि भुक्तानी नआएमा इनल्याण्ड रेवेन्यु कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

कति समयसम्म लागू हुन्छ?

यो सुविधा एक वर्षसम्म, अर्थात् सन् २०२७ अप्रिल १ सम्म लागू हुनेछ। तर यदि ९१ अक्सेन पेट्रोलको मूल्य लगातार चार हप्ता ३ डलरभन्दा तल झरेमा योजना त्यसअघि नै समाप्त हुन सक्छ।

लागत कति लाग्ने?

अर्थमन्त्री निकोला विलिसका अनुसार, यो योजना पूर्ण एक वर्ष सञ्चालन भएमा करिब ३७३ मिलियन डलर खर्च हुने अनुमान गरिएको छ। यो रकम सन् २०२६ को बजेटमा समावेश गरिनेछ।

सरकारले यो योजना लक्षित रूपमा काम गर्ने परिवारहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको बताउँदै, व्यापक र अनियन्त्रित राहतले मुद्रास्फीति बढाउने जोखिमबाट जोगिन यस्तो रणनीति अपनाइएको जनाएको छ।