शिक्षा मन्त्री विवादमा, मन्त्रीको इमेलमार्फत प्रिन्सिपलहरूलाई पार्टीको भिडियो पठाएको आरोप – New Zealand News Nepal (NZ News Nepal)

शिक्षा मन्त्री विवादमा, मन्त्रीको इमेलमार्फत प्रिन्सिपलहरूलाई पार्टीको भिडियो पठाएको आरोप

   March 25, 2026  

न्युजिल्याण्डकी शिक्षा मन्त्री एरिका स्ट्यानफोर्ड माथि सरकारी स्रोत प्रयोग गरी पार्टीसम्बन्धी भिडियो वितरण गरेको आरोप लागेको छ। तर उनको कार्यालयले यसलाई “मानवीय त्रुटि” मात्र भएको दाबी गरेको छ।

मंगलबार बिहान मन्त्री स्ट्यानफोर्डले आफ्नो मन्त्रीस्तरीय इमेलबाट विद्यालयका प्रिन्सिपलहरूलाई सरकारको नयाँ स्मार्ट मूल्याङ्कन उपकरणबारे जानकारी पठाएकी थिइन्। उक्त इमेलमा शिक्षकहरूलाई जानकारी दिन र एउटा छोटो भिडियो साझा गर्न आग्रह गरिएको थियो, जसले स्मार्ट प्रणालीले शिक्षण र सिकाइमा कसरी सहयोग पुर्‍याउँछ भन्ने देखाउने उल्लेख थियो।

तर विवाद त्यसपछि सुरु भयो, जब उक्त भिडियो नेशनल पार्टीको युट्युब पेजमा अपलोड गरिएको पाइयो। पछि सो भिडियो हटाइएको छ।

रेडियो न्युजिल्याण्डले प्राप्त जानकारी अनुसार , केही शिक्षा क्षेत्रका कर्मचारीहरूले सरकारी कार्यक्रमको जानकारी पार्टी प्लेटफर्ममार्फत दिइएकोमा असन्तुष्टि जनाएका छन्। एक प्रिन्सिपलले मन्त्रीलाई प्रत्यक्ष जवाफ दिँदै उक्त भिडियो साझा नगर्ने बताएका छन् र भविष्यमा यस्ता सामग्री उचित सरकारी माध्यमबाट पठाउन आग्रह गरेका छन्।

प्रतिपक्षी दल लेबर पार्टीकी शिक्षा प्रवक्ता गिन्नी एन्डरसनले मन्त्रीको कार्यलाई “पूर्ण रूपमा अनुपयुक्त” भन्दै आलोचना गरेकी छन्। उनले मन्त्रालयको सम्पर्क सूची र सरकारी स्रोत प्रयोग गरेर पार्टीको सामग्री वितरण गर्नु गलत भएको बताइन्।

यस विषयमा मन्त्री स्ट्यानफोर्डका प्रवक्ताले भिडियो “गल्तीवश गलत प्लेटफर्ममा अपलोड भएको” र अहिले हटाइएको जानकारी दिएका छन्। साथै, सही लिंकसहित नयाँ इमेल बुधबार पुनः पठाइने योजना रहेको जनाइएको छ।

प्रवक्ताले लेबर पार्टीको आलोचनाको जवाफ दिँदै भने, “यो शिक्षकहरूका लागि बनाइएको मन्त्रीस्तरीय भिडियो थियो, जुन केवल गलत च्यानलमा अपलोड भएको थियो र अहिले सुधार गरिसकिएको छ।”