इरान युद्धको असर: जेटस्टारको उडान कटौती – New Zealand News Nepal (NZ News Nepal)

इरान युद्धको असर: जेटस्टारको उडान कटौती

   March 25, 2026  

अष्ट्रेलियाली एयरलाइन्स जेट स्टारले इरानमा जारी युद्धका कारण जेट इन्धनको मूल्य बढेपछि आफ्नो आन्तरिक तथा ट्रान्स–टास्मान उडानहरूमा कटौती गरेको छ।

एयरलाइन्स कम्पनीका प्रवक्ताले उडान तालिकामा “अस्थायी परिवर्तन” गरिएको बताएका छन्। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन मूल्य बढ्नु र अन्य लागतहरू वृद्धि हुनु यस निर्णयको मुख्य कारण भएको जनाइएको छ।

एयरलाइन्सले दैनिक धेरै उडान हुने रुटहरूमा समायोजन गर्दै यात्रुहरूलाई सम्भव भएसम्म बुकिङ्ग समय नजिकै यात्रा गराउने प्रयास गरिएको जनाएको छ। कुल उडान सेवामध्ये करिब १२ प्रतिशत प्रभावित भएका छन्।

प्रभावित उडानहरूमा अकल्याण्ड–क्राइस्टचर्च, अकल्याण्ड–वेलिङ्टन, अकल्याण्ड–सिड्नी र अकल्याण्ड–ब्रिस्बेन रुटहरू समावेश छन्।

कम्पनीका अनुसार सबै प्रभावित यात्रुहरूसँग प्रत्यक्ष सम्पर्क गरिएको छ र अधिकांशलाई सोही दिनको वैकल्पिक उडानको व्यवस्था गरिएको छ। “यसले पारेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र ग्राहकहरूको समझदारीप्रति धन्यवाद दिन्छौं,” कम्पनीले जनाएको छ।

यसका साथै “इन्जिनियरिङ र फ्लीट व्यवस्थापन” आवश्यकताका कारण पनि केही उडानहरूमा समायोजन गरिएको बताइएको छ।

यदि नयाँ उडान समय उपयुक्त नभएमा कम्पनीसँग सम्पर्क गरी विकल्पबारे छलफल गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।

अमेरिका र इजरायलले गत फेब्रुअरी अन्त्यतिर इरानमाथि आक्रमण गरेपछि जेट इन्धनको मूल्य लगातार बढिरहेको छ। जवाफस्वरूप इरानले Persian Gulf क्षेत्रमा जहाजहरूमा आक्रमण गर्नुका साथै तेल पूर्वाधारहरूलाई निशाना बनाएको छ।