न्युजिल्याण्डको नर्थल्याण्डका केही क्षेत्रमा आज दिउँसोदेखि अत्यधिक वर्षा हुने चेतावनी दिँदै ‘रेड हेभी रेन वार्निङ’ जारी गरिएको छ। मौसमविद्हरूका अनुसार उक्त क्षेत्रमा ३२० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ।
MetService ले उप-उष्णकटिबन्धीय क्षेत्रमा विकसित गहिरो न्यून चाप प्रणाली देशतर्फ अघि बढिरहेका कारण यो चेतावनी उच्च स्तरमा पुर्याइएको जनाएको छ। यसका कारण भारी वर्षासँगै तीव्र हावा, ठूलो समुद्री छाल तथा चट्याङसमेत पर्ने सम्भावना रहेको बताइएको छ।
आज बिहान करिब १० बजेपछि जारी गरिएको रेड अलर्ट Kaikohe को पूर्वी क्षेत्र, Doubtless Bay देखि Whangārei सम्म लागू हुने छ, जुन आज साँझ ४ बजेदेखि शुक्रबारसम्म कायम रहनेछ।
मौसमविद्का अनुसार सुरुआतमा प्रतिघण्टा १५ देखि २५ मिलिमिटर वर्षा हुने भए पनि बिहीबार दिउँसोदेखि शुक्रबार बिहानसम्म २५ देखि ४० मिलिमिटर वा सोभन्दा बढी वर्षा हुन सक्ने अनुमान छ। बिहीबार अपराह्नदेखि चट्याङसहितको वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।
रेड वार्निङ सबैभन्दा उच्च स्तरको चेतावनी हो, जसले गम्भीर असर र अवरोध निम्त्याउन सक्ने संकेत गर्दछ। John Law का अनुसार यस्तो अवस्थामा जनधनको सुरक्षाका लागि तत्काल कदम चाल्न आवश्यक हुन्छ।
यसैबीच, Top Energy ले बुधबार साँझसम्म माथिल्लो फार नर्थ क्षेत्रमा सयौँ घरमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ। Ngataki देखि Cape Reinga सम्मका क्षेत्रमा समस्या देखिएको छ।
यो वर्ष जारी गरिएको तेस्रो रेड वार्निङ हो भने सन् २०१९ मेदेखि अहिलेसम्म कुल २२ वटा यस्ता उच्चस्तरीय मौसम चेतावनी जारी भइसकेका छन्।
देशका अन्य भागहरू जस्तै Coromandel, Waikato, Bay of Plenty, दक्षिण टापुको माथिल्लो भाग तथा North Otago र South Canterbury मा पनि खराब मौसमको चेतावनी जारी गरिएको छ।
समुद्री किनार क्षेत्र, विशेषगरी नर्थल्याण्डको पूर्वी भागमा भारी वर्षा, शक्तिशाली हावा र ठूलो छालका कारण जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच Whangārei District Council ले Oakura र Whangaruru का बासिन्दालाई असुरक्षित महसुस भएमा आजै सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। जनवरीमा आएको बाढी र पहिरोबाट प्रभावित परिवारलाई विशेष सावधानी अपनाउन भनिएको छ।
सरकार तथा आपतकालीन सेवाका निर्देशन पालना गर्दै अद्यावधिक मौसम जानकारी लिन MetService ले सबैलाई आग्रह गरेको छ।


