बालेन क्याबिनेट: अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर, कानुनमा सोविता, सभामुखमा डीपी – New Zealand News Nepal (NZ News Nepal)

बालेन क्याबिनेट: अर्थमा स्वर्णिम, परराष्ट्रमा शिशिर, कानुनमा सोविता, सभामुखमा डीपी

   March 27, 2026  

रास्वपाले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठन हुन लागेको सरकारका मन्त्रीहरूको नाम अन्तिम रूप दिन थालेको छ।

स्रोतका अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त हुने लगभग निश्चित भएको छ। त्यस्तै, कानुनमन्त्रीमा सोविता गौतमको नाम पनि तय भइसकेको बताइएको छ।

रास्वपाका एक वरिष्ठ नेताले स्वर्णिम, शिशिर र सोविताको मन्त्रालयसमेत टुंगिसकेको र अन्य मन्त्रीहरूको चयन पनि अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। सम्भावित मन्त्रीहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गणेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नामहरू रहेका छन्। यद्यपि, यी नामहरू आधिकारिक रूपमा पुष्टि भने भइसकेका छैनन्।

स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूलाई सभापति रवि लामिछाने, बालेन शाह तथा उनको सचिवालयका सदस्यहरूले फोन र एसएमएसमार्फत जानकारी दिइसकेका छन्।

आज दिउँसो साढे १२ बजे बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ, र त्यसपछि मन्त्रीहरूको पनि शपथ ग्रहण हुनेछ।

यसैबीच, सभामुख पदका लागि डीपी अर्यालको नाम पनि तय भएको छ।