इस्टर बिदा परिवारसँग समय बिताउने अवसरका रूपमा लिइए पनि, यस अवधिमा लागू हुने व्यापार नियमका कारण धेरैमा अन्योल देखिएको छ। विशेषगरी लामो सप्ताहन्तमा कुन दिन पसल खुल्ने र कुन दिन बन्द रहने भन्ने विषयमा स्पष्ट जानकारी नहुँदा उपभोक्ता र व्यवसायी दुवै प्रभावित हुने गरेका छन्। विशेषगरी गुड फ्राइडे र इस्टर आइतबारमा लागू हुने प्रतिबन्धले कुन व्यवसाय खुल्ने र कुन बन्द रहने भन्ने विषयमा उपभोक्ता अन्योलमा पर्ने गरेका छन्।
न्युजिल्याण्डमा शनिबार र इस्टर सोमबार सामान्य सार्वजनिक बिदाजस्तै हुने भएकाले व्यापारमा कुनै विशेष प्रतिबन्ध हुँदैन। तर गुड फ्राइडे र इस्टर आइतबार भने ‘रिस्ट्रिक्टेड ट्रेडिङ डे’ का रूपमा चिनिन्छन्, जसमा अधिकांश पसलहरू बन्द गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। Shop Trading Hours Act 1990 अनुसार वर्षमा साढे तीन दिन यस्ता कडा नियम लागू हुने गर्दछ।
गुड फ्राइडेका दिन अनुमति बिना पसल खोल्नु गैरकानुनी मानिन्छ। यद्यपि डेरी, पेट्रोल पम्प, क्याफे र फार्मेसी जस्ता केही व्यवसायहरू सर्तसहित सञ्चालन गर्न पाइन्छ। देशभरका अधिकांश सुपरमार्केट बन्द रहने भए पनि केही क्षेत्रीय छुट भएका स्थानमा भने खुल्न सक्ने व्यवस्था छ। मदिरा पसलहरू बन्द रहने भएकाले उपभोक्ताले अघि नै खरिद गर्नुपर्ने हुन्छ, जबकि रेस्टुरेन्ट वा बारले खाना सँगै मदिरा बिक्री गर्न सक्छन्।
इस्टर आइतबार सार्वजनिक बिदा नभए पनि यस दिन पनि व्यापारमा कडाइ रहन्छ। केही साना पसलहरू खुल्न पाउने भए पनि अन्य पसल खोल्ने–नखोल्ने अधिकार स्थानीय काउन्सिलको निर्णयमा निर्भर हुन्छ। अकल्याण्ड, वेलिङ्टन र क्राइस्टचर्चका अधिकांश क्षेत्रमा प्रतिबन्ध कायम रहे पनि अकल्याण्डको पार्नेल रोडजस्ता केही क्षेत्रलाई विशेष छुट दिइएको छ।
यसैबीच, इस्टर अवधिमा मदिरा बिक्रीसम्बन्धी नियम सहज बनाउने उद्देश्यले प्रस्ताव गरिएको विधेयक अहिले अन्तिम चरणमा पुगेको छ। यदि उक्त विधेयक पारित भएमा बार, रेस्टुरेन्ट र सुपरमार्केटलाई केही छुट मिल्ने अपेक्षा गरिएको छ।
यता, सार्वजनिक बिदामा सर्चार्ज लिने प्रचलन पनि बढ्दो छ। व्यवसायहरूले कर्मचारीलाई अतिरिक्त पारिश्रमिक दिनुपर्ने भएकाले यस्तो शुल्क लिइने भए पनि उपभोक्तालाई स्पष्ट जानकारी दिनु अनिवार्य छ। विशेषगरी इस्टर आइतबार सार्वजनिक बिदा नभएकाले गलत जानकारी दिएर सर्चार्ज लिनु नियमविपरीत मानिन्छ।


