न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले आफ्नो मन्त्रीपरिषद् पुनर्गठन गर्दै क्रिस पेन्क र पेनी सिमोन्ड्सलाई क्याबिनेटमा पदोन्नति गरेका छन्।
यससँगै पहिलो कार्यकालका सांसद क्यामेरन ब्रुअर र माइक बटरिकलाई क्याबिनेट बाहिरका मन्त्री नियुक्त गरिएको छ।
यो पुनर्गठन रक्षा मन्त्री जुडिथ कोलिन्सको अवकाश तथा डा. शेन रेटीले आगामी निर्वाचनमा नउठ्ने निर्णयपछि गरिएको हो।
पुनर्गठनअनुसार कोलिन्ससँग रहेका रक्षा, अन्तरिक्ष तथा जीसीएसबी र एनजेडएसआईएस सम्बन्धी जिम्मेवारी क्रिस पेन्कलाई दिइएको छ। पब्लिक सर्भिस तथा डिजिटल सरकारसम्बन्धी जिम्मेवारी पल गोल्डस्मिथले सम्हाल्नेछन् भने क्रिस बिशप महान्यायाधिवक्ता (अटर्नी–जनरल) बनेका छन्। बिशपको ‘लीडर अफ द हाउस’ पद लुइस अप्स्टनलाई दिइएको छ।
पेनी सिमोन्ड्सले डा. रेटीको विज्ञान, नवप्रवर्तन तथा प्रविधि मन्त्रालय सम्हाल्नेछिन् भने ‘युनिभर्सिटीज’ मन्त्रालय खारेज गरी उनलाई तृतीय शिक्षा मन्त्री बनाइएको छ। यसअघि उनी व्यावसायिक शिक्षा तथा वातावरण मन्त्री थिइन्। वातावरण मन्त्रालय भने निकोला ग्रिगलाई दिइएको छ, जो क्याबिनेट बाहिर नै रहनेछिन्।
क्यामेरन ब्रुअरलाई वाणिज्य तथा उपभोक्ता मामिला मन्त्री र साना व्यवसाय तथा उत्पादन मन्त्री बनाइएको छ। माइक बटरिक भूमि सूचना मन्त्री बनेका छन्।
अन्य परिवर्तनहरूमा सिमेओन ब्राउनले ऊर्जा मन्त्रालय सम्हाल्नेछन् भने साइमोन वाट्सले अकल्याण्डसम्बन्धी मन्त्रीको जिम्मेवारी लिनेछन्। प्रधानमन्त्री लक्सनले पछिल्ला हप्ताहरूले ऊर्जा सुरक्षाको महत्व झन् उजागर गरेको भन्दै उक्त जिम्मेवारी वरिष्ठ मन्त्रीलाई दिइएको बताएका छन्।
लक्सनले कोलिन्स र रेटीको योगदानप्रति आभार व्यक्त गर्दै उनीहरूको सार्वजनिक सेवामा गरेको योगदानको प्रशंसा गरेका छन्।
यी सबै परिवर्तनहरू आगामी अप्रिल ७ (मंगलबार) देखि लागू हुनेछन्।
यसअघि लक्सनले जनवरी २०२५ पछि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिएनन्, केवल एन्ड्र्यु बेलीको राजीनामापछि स्कट सिम्पसनलाई क्याबिनेट बाहिरको भूमिकामा पदोन्नति गरिएको थियो।
यो पुनर्गठन नेशनल पार्टीका मन्त्रीहरूमा मात्र लागू हुने बताइएको छ। एसीटी पार्टीकी मन्त्री ब्रुक भान भेल्डेनले भने निर्वाचनमा नउठ्ने निर्णय गरे पनि आफ्नो हालको जिम्मेवारी कायम राख्नेछिन्।


