न्युजिल्याण्ड र कुक आईल्याण्डबीच पछिल्लो समय देखिएको सम्बन्धमा सुधार आएको छ भने न्युजिल्याण्डले दिने आर्थिक सहयोग पनि निरन्तर रहने भएको छ।
दुवै देशले रक्षा तथा सुरक्षा सम्बन्धी नयाँ घोषणा पत्रमा हस्ताक्षर गर्दै आपसी विश्वास र सहकार्यलाई थप सुदृढ गर्ने सहमति गरेका छन्। यससँगै न्युजिल्याण्डले वार्षिक करिब २९.८ मिलियन डलर बराबरको सहयोग पुनः सुरु गर्ने जनाएको छ।
न्युजिल्याण्डका परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले दुई देशबीचका मतभेद संवादमार्फत समाधान गरिएको बताउँदै सम्बन्ध फेरि सकारात्मक दिशामा अघि बढेको उल्लेख गरे। उनले “हामी नजिकका आफन्त हौँ, कहिलेकाहीँ असमझदारी भए पनि अन्ततः मिलेर अघि बढ्छौँ” भने।
कुक आईल्याण्डका प्रधानमन्त्री मार्क ब्राउनले पनि नयाँ समझदारीले दुवै देशलाई लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले घोषणा पत्र तयार पार्न दुवै पक्षले पर्याप्त मेहनत गरेको बताए।
यसअघि कुक आईल्याण्डले चीनसँग गरेको रणनीतिक सम्झौताका कारण दुई देशबीच केही तनाव उत्पन्न भएको थियो। तर पछिल्लो समझदारीले ती विवादहरू समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको विश्लेषण गरिएको छ।
नयाँ घोषणा पत्रले विशेषगरी रक्षा र सुरक्षासम्बन्धी विषयमा दुवै देशबीच स्पष्ट समझदारी कायम गर्ने लक्ष्य राखेको छ।
\


